अमलटारी घरवास (होमस्टे) नेपालको उत्कृष्ट

बिबेक भण्डारी २९। नवलपरासीको पर्यटकीय नगरी कावासोतीमा सञ्चालित अमलटारी घरवास (होमस्टे) नेपालको उत्कृष्ट भएको छ ।
नेपाल सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्यायन मन्त्रालय अन्तरगत रहेर पर्यटन पूर्वाधार विकासको काम गर्दै आईरहेको तारा गाउँ विकास समितीले अमलटारी होम स्टेलाई नेपालकै उत्कृष्ट घोषणा गरेको हो । वैशाख २५ र २६ गते बर्दियामा भएको होम स्टे एसोसियनको तेश्रो कार्याशाला गोष्ठिको अवसर पारेर एक लाख १ हजार नगद र सम्मानपत्रसहित वर्ष २०७२ को उत्कृष्ट होम स्टे घोषणा गर्दै सम्मान गरेको हो ।
डब्लुडब्लुएफ, तराई भू परिधि कार्यक्रम (ताल), चितवन राष्ट्रिय निकुञ्ज र अमलटारी मध्यवर्ती उपभोक्ता समूहको ‘हमार दिगो गाउँ’ (हाम्रो दिगो गाउँ) कार्यक्रम अन्तरगत यो गाउँमा होम स्टे शुरु गरिएको थियो । पूर्व पश्चिम राजमार्गको कावासोतीको डण्डाबाट करिब सात किलोमिटर दक्षिणमा पर्ने बाघखोर गाउँमा थारु, मुसहर बोटेलगायत गरि २२ वटा घरमा होम स्टे संचालन छ । चिर्चर, माछा, घोगी, अचार, हासबाट बनाइने थारु परिकारले यहाँ पाहुनालाई स्वागत गरिन्छ । २०७० जेठ ५ गते होम स्टे शुरु गरेपछि जिल्लाकै विभिन्न संघ संस्था र कार्यालयबाट कार्यक्रम गर्न र बास बस्न उल्लेख्य रुपमा मानिसहरु आउने गरेका अमलटारी मध्यवर्ती होमस्टेका अध्यक्ष प्रेमशंकर मर्द्निया थारुले बताए । अझ अमलटारीलाई गत वर्ष सरकारले गाउ गन्तव्य २०७२ समेत घोषित गरेपछि यहाँ राष्ट्रिय स्तरका कार्यक्रम महिनै जसो हुने गरेका छन । भने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । संचालनमा आएदेखि अहिलेसम्म २९ हजार ६ सय पर्यटक यहा आएको व्यवस्थापक धनिराम महतोले जानकारी दिए । त्यसमा २५ सय जना विदेशी पर्यटक आएका छन भने २७ हजार १ सय जना स्वदेशी पर्यटक आएका छन् । हरेक दिन बेलुकी पाहुनाको स्वागत र मनोरञ्जनकालागी थारु र बोटेको संस्कृति झल्कने थारुको लाठी, झुमरा र जोगेडा तथा बोटेको गोलेनी नाच प्रस्तुत गरिन्छ । थारु र बोटे पहिरनमा सजिएका युवायुवतीले राती ८ बजेदेखि २ घण्टासम्म सास्कृतिक कार्यक्रम पस्किन्छन । बिहान जंगल सफारी, हात्ती र गाडा सफारी नारायणी नदिमा डुङ्गा सफारी , फिसिङ्ग गरिन्छ । मध्यवर्ती्िभत्र आउने गैंडा, बाघ, भालु, चराचुरुङ्गी र जैविक विविधताले पर्यटकलाई लोभ्याउछ । होम स्टे भएका घरहरुमा २ वटा कोठा छन् जसमा ४ जना पाहुना मात्रै बस्न मिल्छ । अट्याच बाथरुमसहित २४ सै घण्टा पानीको व्यवस्था छ । बिजुली बत्ती नभएको बेला उज्यालोकोलागी सोलारको व्यवस्था पनि गरिएको छ । एउटा कोठामा एकरातको एकजनाको ५ सय दुइजना भए शुल्क ६ सय रुपैयाँ तोकिएको छ । मासु खानाको २ सय ५० र सादा खानाको १ सय ३० रुपैयाँ छ । बिहान नास्ताको १ सय रुपैयँ लाग्छ । विदेशीले भने कोठाको ८ सय, सादा खानाको ३ सय ५० र मासुसहित ४ सय रुपैयाँ तिर्नुपर्छ ।
तपाइँको प्रतिक्रिया