मूल्यवृद्धिको विरोध गर्न सडकमा लडाइयो रित्ता सिलिण्डर

विराटनगर, १० जेठ । सरकारले पेट्रोलियम पदार्थदेखि खाना पकाउने एलपी ग्यासमा समेत मूल्यवृद्धि गरेपछि जनता विरोधमा उत्रिएका छन् । विरोधकै क्रममा विराटनगरमा मंगलबार विभिन्न उपभोक्ता अधिकार समूहले प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि खाना पकाउने रित्तो ग्यास सिलिण्डर फालेर मूल्यवृद्धिको विरोध गरेका छन् ।
पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले सरकारले गरेको चर्को मूल्यबृद्धिले जनतालाई असर पारेको बताए । उनले भने, ‘सांकेतिक रुपमा गरिएको यसप्रकारको विरोधले सरकारलाई जगाउनुपर्ने हो । सरकारले गरेको मूल्यबृद्धि फिर्ता लिनुपर्ने हो । तर, सरकार कहाँ छ खै ?’
एकपछि अर्को गर्दै सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि जनतालाई मान्य र सह्य नहुने उनको भनाइ छ । उनले भने, ‘केन्द्र सरकारले गरेको निर्णय नेपाली जनतालाई मान्य छैन । तीन तहको सरकारमध्ये प्रदेश सरकार सुतेको अवस्थामा छ । महँगीले आजित जनताको विषयमा प्रदेश सरकार मौन छ । त्यसैले पनि प्रदेश सरकारलाई झक्झक्याउन आएका हौँ ।’
मुख्यमन्त्रीको कार्यालयअघि २० वटा रित्तो सिलिण्डर फालेर प्रदर्शन गरिएको जानकारी दिँदै उनले भने, ‘प्रदेश सरकारलाई लाज हुनुपर्ने हो । जनताको चुल्होमा दिनदिनै महँगीले आक्रान्त बनाएको छ । सरकारले सहुलियत दिनेतर्फ सोच्न सकेको छैन। सरकार निन्द्रामै रमाएको छ ।’ विरोधका क्रममा राप्रपाका नेता एवं टोल संगठन विराटनगरका अध्यक्ष राजेश मास्केले सरकारले गरेका मूल्यबृद्धि फिर्ता लिनुपर्ने बताए ।
सरकारले केही
दिनअघि पेट्रोलियम पदार्थमा १० रुपैयाँ मुल्यबृद्धि गर्दै प्रतिलिटर १ सय ८० रुपैयाँ, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएर १ हजार ८ सय रुपैयाँ पुर्याएको छ । यसअघि १ हजार ६ सय रुपैयाँ प्रतिसिलिण्डरको मूल्य थियो ।
तपाइँको प्रतिक्रिया