मेयर बालेनलाई आरजु राणाको प्रश्न–“रुटिन अफ नेपाल बन्दलाई कतिमा हायर गर्नुभयो ?”

काठमाडौं, ७ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरूको काम हेर्न बाँकी रहेको बताएकी छन् ।
तरुण दल कास्कीले पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवापत्नी आरजुले यस्तो बताएकी हुन् ।
दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने उनले बताइन्।
अहिले स्थानीय तह जितेका स्वतन्त्र उम्मेदवार पनि एउटा–एउटा गुण पहिचान गरेर नेता बनेको उनले आरोप लगाइन्। ‘बालेन शाहको सामाजिक सञ्जाल हेरौं, रुटिन अफ नेपाल बन्दलाई कतिमा हायर गर्नुभयो’, उनले भनिन्, ‘रुटिन अफ नेपाल बन्द कन्सल्टेन्सीका रूपमा परिचालन भएको छ।’
पछिल्लो समय स्वतन्त्र उम्मेदवार बढेको उनले बताइन्। ‘अहिले त एक्टिङ छाडेर एक्टर र पत्रकारिता छाडेर पत्रकार पनि राजनीतिमा आएका छन्। हुन त राम्रो पनि हो, रमाइलो हुन्छ। भिन्नाभिन्नै विचार बोकेर आउँछन्’, उनले भनिन्। लामो समय देश बचाएर राख्ने हो भने राजनीतिक सिस्टम कायम राख्नुपर्ने उनको भनाइ छ।
तपाइँको प्रतिक्रिया