सकियो गैँडाकोटमा चारदिनसम्म सञ्चालन भएको उद्घोषण तालिम

गैंडाकोट, ७ जेठ । मौलाकालि सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको चार दिने उद्घोषण तालिमको समापन भएको छ । मंगलवार वडा नं. ४ मा रहेको जनक प्रा.वि.को सभाहलमा आयोजित एक कार्यक्रमका बीच तालिमको समापन गरिएको हो ।
तालिममा ४३ जना महिलाहरू सहभागि रहेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले उद्घोषण कलाले व्यक्तिको वाणीलाई राम्रो बनाउँने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका विनोदीले सिकेको कुरालाई निरन्तर अभ्यास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आफ्ना भनाईहरू राख्दै केन्द्रका अध्यक्ष कमलप्रसाद पराजुलीले तालिममा उत्साहपुर्ण रुपमा भएको सहभागिताले संस्थाको उद्देश्य सफल भएको बताउनुभयो । उहाँले अब यो तालिम लिएपछि प्रशिक्षार्थीले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महिला नेत्री संगीता घिमिरे, नेपाल राष्ट्रिय माविका प्राचार्य इन्द्रराज भट्टराई र गैंडाकोट नगरपालिकाका शिक्षा समितिका सदस्य कमल सुवेदी, प्रशिक्षकद्वय प्रमिला अधिकारी, ज्ञानु पंगेनी, प्रशिक्षार्थी निरु रिमाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा तालिममा सहभागिहरुका तर्फबाट उत्कृष्ट क्षमता प्रदर्शन गर्ने आस्था तिवारी र निरू रिमाललाई नगदसहित पुरस्कृत गरिएको थियो ।
मौलाकालिका सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कमल प्रसाद पराजुली अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष हिमालदेव पंगेनीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको संचालन केन्द्रकी सचिव यममाया पुलामी मगरले गर्नुभएको थियो । तालिममा संचारकर्मीद्वय ज्ञानु पंगेनी र प्रमिला अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।
तपाइँको प्रतिक्रिया