क्वारेन्टिनको सुरक्षामा खटिएका सुरक्षा गार्डद्वारा आत्महत्या

रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनको सुरक्षामा खटिएका एक सुरक्षा गार्डले आज बिहान आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाएका छन् ।
देवदह–५ दुर्गामन्दिर टोल घर भई वडा नं.७ शीतलनगरस्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले आफ्नै शरीरमा आगो लगाएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
शरीरमा मट्टितेल छर्किएर आगो लगाएपछि गम्भीर अवस्थामा उद्धार गरिएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले बिहान अस्पतालमा मृत्यु भएको बताए । उनले आत्महत्या गर्नुको कारण अझै खुल्न नसकेको भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
देवदह नगरपालिका मेयर हिरा केसीले बस्याललाई एक हप्ता जति दैनिक ज्यालादारी चौकिदारको काम गर्ने गरी वडा कार्यालयले सुरक्षा गार्डको काममा राखेको बताए । उक्त क्वारेन्टिनमा १६ जना रहेका छन् । पछिल्लो समय प्रहरीमा जनशक्ति कम भएपछि स्थानीय तहले एक जना सुरक्षा गार्ड नियुक्त गर्ने सहमति अनुसार उनलाई नियुक्त गरिएको मेयर केसीले बताए ।
तपाइँको प्रतिक्रिया