भारतबाट खोप नेपाल ल्याउने प्रक्रिया बुधबार देखि सुरु

माघ ७,
बुधबबार देखि भारतबाट कोरोना बिरुद्धको खोप नेपाल ल्याउने कार्य सुरु भएको छ । भारतीय विदेश मन्त्रालयले बुधबार देखि नेपालसहितका छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउने बताएको छ । मन्त्रालयले विज्ञप्ती जारी गर्दै नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्समा खोप आपूर्ति शुरु हुने उल्लेख छ । प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्वीटमार्फत बुधबारदेखि नै खोप वितरण सुरु हुने लेखेका छन् । मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने बताए पनि परिमाण भने खुलाएको छैन । तर, कतिपय भारतीय मिडियाले चाहिँ छिमेकी मुलुकलाई १ करोड डोज उपलब्ध गराउन लागेको उल्लेख गरेका छन् । नेपाल सरकारले भने कति परिमाणमा खोप आइपुग्छ भनेर केही बताएको छैन । अघिल्लो साता नेपालको औषधी व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड एक्ट्राजेनेकाको कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । नेपालले भने ६० लाख जनसंख्याको लागि कोभिसिल्ड भ्याक्सिनको माग गरेको छ । भारतीय विदेश मन्त्रालयले भने आन्तरिक माग पूरा हुने निश्चित भएको कारणले मात्र छिमेकी मुलुकलाई खोप उपलब्ध गराउने उल्लेख गरेको छ।
तपाइँको प्रतिक्रिया