बर्दियामा बाघको आक्रमणबाट गैँडा गणकको मृत्यु, आक्रमण गर्ने पाटेबाघ समातियो ।

बर्दिया, २३ चैत्र
बर्दिया राष्ट्रिय निकुञ्जभित्र आइतवार बेलुका गैँडा गणनामा खटिएका हात्तीका माहुतेलाई मार्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले निकुञ्जभित्र पर्ने गैँडा मचान क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै बर्दियाबाट पाँच वटा पाटेबाघ नियन्त्रणमा लिइएको छ । भुरिगाउँ क्षेत्रबाट नियन्त्रणमा लिइएको बुढो पाटेबाघ उपचारका क्रममा मरेको थियो । यस्तै नियन्त्रणमा लिइएको बाघहरुलाई बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्धारा र निकुञ्जको रम्मापुर क्षेत्रमा राखिएको छ । बाँके राष्ट्रिय निकुञ्जमा राखिएको पाटेबाघ भने खोरको सरिया बङ्ग्याएर भागेको थियो । अहिले नियन्त्रणमा लिइएको बाघलाई जावलाखेल चिडियाखाना लैजाने तयारी गरिएको छ ।
गैँडा गणना गर्न गएको टोली रहेको हात्तीका माहुते पुलिसराम चौधरीको आइतवार बेलुका निकुञ्ज भित्र गैँडा मचान क्षेत्रमा पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत गणनामा खटिएका एकजना कर्मचारी ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा पुलिसरामलाई आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण गरेको थियो । पाटेबाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविकमार्ग र राष्ट्रिय वन आसपासका क्षेत्रमा एक वर्षभित्र ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।
तपाइँको प्रतिक्रिया