रंगशाला निर्माण हुने खुसियालीमा भरतपुरको चौविसकोठीमा दिप प्रज्वलन
चितवन,माघ १६-
चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने खुसियालीमा भरतपुरमा दिप प्रज्वलन गरिएको छ । आज (बुधवार) साँझ भरतपुरको चौविसकोठीमा क्रिकेट समर्थक समाज र स्थानिय खेलप्रेमी युवाहरुले दिप प्रज्वलन गरेका हुन् । भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुनु खुसीको कुरा भन्दै उनिहरुले रंगशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच बुधवार रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको हो । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ बर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले जनाएको छ । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फाउण्डेसनका तर्फबाट सीताराम कट्टेल र भरतपुर महानगरपालिकाका तर्फबाट मेयर रेणु दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । समारोहमा प्रधानमन्त्री ओलीका साथै नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शशांक कोइराला, कलाकार मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको जग्गा महानगरले रंगशाला निर्माणका लागि उपलब्ध गराउने सम्झौता यसअघि नै भइसकेको छ । गुरुयोजना तयार भएको २ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको रंगशाला २० विगाह ६ कठ्ठा क्षेत्रफलमा बन्ने फाउण्डेसनका प्रमुख सीताराम कट्टेलले जानकारी दिए ।
उनका अनुसार आईसीसीको सबै मापदण्ड पूरा गरी बन्ने रंगशालाको नाम गौतम बुद्ध रंगशाला रहनेछ । रंगशालाको अग्रभाग स्तुप शैलीको हुनेछ भने खेल मैदान वरिपरिको भाग कमलको फूलको आकारमा हुनेछ । करिब २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सबै रकम स्वेच्छिक सहयोगबाट उठाउने फाउण्डेसनले बताएको छ ।
तपाइँको प्रतिक्रिया