मेयर बालेनले दिए हिमालयन टेलिभिजन र नेपाल समाचारपत्रविरुद्ध प्रेस काउन्सिलमा उजूरी

काठमाडौँ, ३ साउन । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजूरी दिएका छन् । तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै मेयर शाहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनलाई कारबाही गर्न मागसहित प्रेस काउन्सिलमा उजूरी दिएका हुन् ।
‘नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनले काठमाडौँ महानगरपालिकाले अमुक संस्थालाई अनुदान दिने उद्देश्यले बजेट विनियोजन गरेको भन्ने विषयक भ्रामक र तथ्यहीन समाचार प्रकाशन प्रसारण गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६ सहित)को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचारसंहिताको दफा ७ बमोजिम नेपाल समाचारपत्र र हिमालयन टेलिभिजन प्रकाशन प्रशारण गर्ने संस्थालाई क्षतिपूर्तिसहितको कारबाही माग गर्दछु,’ बालेनले प्रेस काउन्सिलमा दिएको उजूरीमा भनिएको छ ।
बालेनले बजेटमा इस्पोर्टस्को नाममा उनको चुनावी प्रचारमा सहयोग गरेका ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक पेजका सञ्चालक भिक्टर पौडेललाई फाइदा पुग्ने गरी एक करोड रुपैयाँ विनियोजन गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि बालेनको चौतर्फी विरोध भएको थियो ।
तपाइँको प्रतिक्रिया