सिसडोलमा रंगशाला र पार्क बनाउने बालेनको चाहना

काठमाडौँ, ५ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सिसडोलमा फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहेको बताएका छन् । आइतबार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्बाङसँग भेटघाटको क्रममा उनले यस्तो बताएका हुन् ।
मेयर बालेनले भने, ‘हामी सिसडोलको ल्यान्डफिल साइट जुन काठमाडौँभन्दा १२ किलोमिटर मात्र टाढा छ । अहिलेको फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौँ ।’
भेटवार्ताका क्रममा मेयर बालेनले काठमाडौँका क्लबहरूमा खेलाडी कम उत्पादन हुन थालेकोमा गुनासोसमेत गरे । उनले भने, ‘लिग खेल्ने काठमाडौँका क्लबहरूमा बाहिरका खेलाडीकै वर्चस्व छ। स्थानीय खेलाडी टिममा हुनै छाडेको छ। त्यसैले महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौँ ।’
टुडिखेल लगायत महानगरका अन्य पार्क र मैदानमा राति खेल्न मिल्ने गरी फ्लडलाइट जडान गर्ने पनि मेयर बालेनले बताए । अहिले पनि काठमाडौँ महानगरले महानगरमा भएका ए डिभिजनका क्लबहरूलाई प्रत्येक वर्ष १० लाख दिने गरेको छ ।
नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै हाल एन्फाका वरिष्ठ उपाध्यक्ष रहेका नेम्बाङले भने, ‘हामी महानगरमा फुटबलको विकास र कार्यक्रममा सञ्चालनमा सहकार्य गर्न तयार छौँ । सुशासन, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छौँ । यही सिस्टम बसाल्नकै लागि एन्फामा नेतृत्वको लागि चुनावी मैदानमा आएको छु। चुनाव जित्नेमा विश्वस्त छु ।’
छलफलमा उनीसहित उपाध्यक्षका उम्मेदवार दावा लामा (अहिलेका केन्द्रीय सदस्य) र नवीन पाँडे (फुटबल फ्यान एवम् एन्फाका विदेश विभागका पूर्वप्रमुख) थिए ।
तपाइँको प्रतिक्रिया