मेयर साहलाई प्रचण्डले भने–‘राम्रो काममा सँधै साथ छ’

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरका मेयर बालेन साहले पछिल्लो समय राजनीतिक दलका उच्च नेता तथा प्रमुख कार्यकारीहरुसँग भेटवार्ता गरिरहेका छन् । जसक्रममा प्रमुख साहले शनिबार बिहान खुमलटार पुगेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रचण्डसँगको भेटमा उनले काठमाडौं महानगरको फोहोर व्यवस्थापनका लागि सहयोग गर्न आग्रहसमेत गरेका थिए ।
सो क्रममा प्रचण्डले साहलाई राम्रो कामको लागि सँधै साथ रहने आश्वासन दिएको बताइएको छ । ‘तपाईंको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो । पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ । त्यसैले तपाईंलाई हाम्रो सधैँभरि साथ र सहयोग हुनेछ।’ प्रचण्डको भनाई उद्यृत गर्दै उनको निजी सचिवालयले जानकारी दिएको छ ।
साहलाई प्रचण्डले तपाईँको जित नै क्रान्ति भएको बताएका थिए । प्रचण्डले पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टममा रहेको तर सहाले भने पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहेको भन्दै प्रशंसा गरे ।
यसअघि प्रमुख साहले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए ।
तपाइँको प्रतिक्रिया