भरतपुर महानगरको कार्यपालिका सदस्य निर्वाचनमा सत्ता गठबन्धनको प्यानलै विजयी

भरतपुर,२४ जेठ ।
चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ ।
मंगलबार भएको निर्वाचनमा नेकपा एमालेलाई पराजित गर्दै सत्ता गठबन्धनका आठै जना उम्मेदवार विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका अनुसार महानगरको कार्यपालिका सदस्यमा नेपाली कांग्रेसबाट पाँच जना, नेकपा माओवादी केन्द्रबाट दुई र एकीकृत समाजवादीबाट एक सदस्य निर्वाचित भएका छन् ।
कार्यपालिकाको महिला सदस्यमा कांग्रेसबाट सिर्जना अधिकारी, सुकमाया परियार, शारदा पोख्रेल , नर्वदा सापकोटा र माओवादी केन्द्रबाट बिना नेपाली निर्वाचित भएका हुन् ।
उता दलित तथा अल्पसंख्यकमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एक/एक जना निर्वाचित भएका छन् । कांग्रेसबाट गोपाल दराई विजयी हुँदा एकीकृत समाजवादीबाट कोपिला उपरकोटी र माओवादी केन्द्रबाट बिष्णुबहादुर भुजेल विजयी भए ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा १४७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए।
नेपाली कांग्रेसबाट ७७, नेकपा एमालेबाट ५०, नेकपा माओवादी केन्द्रबाट १०, नेकपा एकीकृत समाजवादी पार्टीबाट ५, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ र एक जना स्वतन्त्रबाट जनप्रतिनिधिमा निर्वाचित भएका थिए। तिनै जनप्रतिनिधिले मंगलबार नगर कार्यपालिकाको निर्वाचनमा मतदान गरेका थिए।
तपाइँको प्रतिक्रिया