यसरी बन्दैछ भरतपुरमा विजय सुवेदीको चुनाव जित्ने आधार

चितवन, २७ वैशाख । स्थानीय तह निर्वाचन आउन तीन दिन मात्रै बाँकी छ । मंगलबार राती १२ बजेपछि मौन अवधि शुरु हुन्छ । उम्मेदवारहरुले आफ्नो घरदैलो करिबकरिब सम्पन्न गरिसकेका छन् । राती १२ बजेपछि त घरदैलो गर्न पनि पाइन्न ।
अहिले नेपालकै चुनावी केन्द्रविन्दुमा रहेको छ भरतपुर । त्यसमाथि अबको मेयर को हुने भन्नेबारे आमचासो देशव्यापी छ । भरतपुर महानगरमा २७ जनाले चुनावी प्रतिष्पर्धामा भाग लिए पनि मुख्य रुपमा तीन जनाबीच प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।
एमाले र राप्रपाले भरतपुरमा चुनावी तालमेल गरेका छन् भने काँग्रेस, माओवादी, समाजवादी, जनमोर्चा र जसपाले केन्द्रीय नीति बमोजिम नै ‘गठबन्धन’ को साझा उम्मेदवार तय गरेका छन् । जसअनुसार एमालेका विजय सुवेदी, माओवादीकी रेणु दाहाल र असन्तुष्ट स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिनुभएको छ । पौडेलले ‘भुइकटहर’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएको छ ।
भरतपुरका मतदाता, केन्द्रीय राजनीतिक विश्लेषण, चितवनको राजनीतिक घटनाक्रम र स्थलगत अनुगमनले भरतपुरको मेयरमा विजयको विजयलाई नकार्न सकिँदैन । विजय सुवेदी भरतपुरको मेयरका लागि बलियो बन्दै गएको आधारहरु यहाँ यसरी प्रस्तुत गर्न सकिन्छ ।
यस्तो छ चुनावी अंकगणित
२०७४ सालको स्थानीय निर्वाचनमा भरतपुरमा काँग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएको थियो । एमाले एक्लै चुनावी मैदानमा उत्रिएको हो । गएको स्थानीय निर्वाचनमा माओवादी उम्मेदवार रेणु दाहालले ४३ हजार १२७ मत प्राप्त गरी मेयरमा विजय प्राप्त गर्नुभएको हो । एमालेका देवीप्रसाद ज्ञवालीले प्राप्त गरेको मत ४२ हजार ९२४ हो । यसैगरी राप्रपाका बद्री तिमल्सिनाले ६८४२ मत प्राप्त गर्नुभएको थियो । यस हिसाबले सो निर्वाचनमा एमाले र माओवादीबीचको मतान्तर जम्मा २०३ थियो ।
त्यतिबेला भरतपुरमा मतपत्र च्यातेर माओवादीले मेयर जितेको कुरा त सबैका सामु छर्लङ्ग छ । सरासर मतगणना भएको भए भरतपुरमा एमालेले चुनाव जितिसकेको थियो । तर भरतपुर–१९ मा पुन मतदान गरी सारा काँग्रेसहरु लागेर माओवादीलाई चुनाव जिताएको कुरालाई भरतपुरका जनताले बिर्सिएका छैनन् ।
भरतपुरमा अहिले झण्डै ३५ हजार नयाँ मतदाता थपिएका छन् । तर, चुनाव विगतका तथ्याङ्कका आधारमा मात्र जितिँदैन । पार्टीको सांगठनिक सक्रियता र उम्मेदवारको लोकप्रियता जस्ता विषयले पनि भूमिका खेल्छ । यी सबै गुण एमालेका उम्मेदवार विजय सुवेदीका हकमा देखिन्छ ।
अहिले भरतपुरको कुल मतदाता १ लाख ८५ हजार ७५२ हो । भरतपुरमा अहिले त्रिपक्षीय कडा प्रतिष्पर्धा हुने भएकाले मेयरको चुनाब जित्न उम्मेद्वारले ५७ हजारको हाराहारीमा मत ल्याउनु पर्ने देखिन्छ । यसैले एमालेलाई यसपालि करिब १५ हजार मत बढाउन खासै गाह्रो छैन । अहिले एमालेलाई नयाँ थपिएका मतदाताको ४० प्रतिशत मत आएमात्रै पनि चुनाव जित्न पर्याप्त हुन्छ । त्यसमाथि राप्रपा, रामबहादुर बादलसँगै आएका पूर्व माओवादी, काँग्रेसका असन्तुष्ट समूह र विजय सुवेदीको व्यक्तिगत मतले पनि एमालेलाई भरतपुरमा चुनाव जित्न गाह्रो देखिँदैन । यसैले एमालेले भरतपुरमा मेयर पदमा निर्वाचन जित्न सक्ने केही आधारहरुलाई यसरी विष्लेषण गर्न सकिन्छ ।
गठबन्धनको भाँडभैलो
राष्ट्रिय रुपमै चितवनमा पनि ‘गठबन्धन’ छ । पाँचदलीय गठबन्धन भने पनि मतदाताहरुको संख्या काँग्रेस र माओवादीमै छ । उनीहरुको अघिल्लो चुनावमै पनि गठबन्धन भएको हो । बाँकी दलहरु जसपा, समाजवादी र जनमोर्चाको प्रभाव भरतपुरमा खासै छैन । यी तीन दलको मत संख्या करिब दुई हजार रहेको छ । तर गठबन्धनमा आफूहरुले भनेजति पदमा उम्मेदवारी नपाएका कारण यी साना दलले पनि ठूला भनिएका काँग्रेस–माओवादीसँग असन्तुष्टि जनाइरहेका छन् ।
अघिल्लो पटक भरतपुर–१० मा एमालेबाट वडाध्यक्षमा चुनाव जितेका अरुणपीडित भण्डारी पछि समाजवादीमा लाग्नुभयो । भरतपुर महानगरको प्रवक्ता पनि बन्नुभयो । अहिलेको निर्वाचनमा वडाध्यक्ष छाडेर जिल्ला समन्वय समिति चितवनको प्रमुख बन्ने दाउमा उहाँ हुनुहुन्थ्यो । गठबन्धनले सोही बमोजिम भण्डारीलाई यसको ‘ग्रीन सिग्नल’ पनि दियो । तर अन्ततः भण्डारीलाई गठबन्धनले अहिले वडाको सदस्यको रुपमा समेत पत्याएन ।
एमालेले वडाध्यक्ष बनाएर महानगरको प्रवक्ता भइसक्नुभएका भण्डारी यतिबेला समाजवादीको जिल्ला उपाध्यक्ष रही एक्लै वार्ड सदस्यको रुपमा भरतपुर–१० को मैदानमा हुनुहुन्छ । गठबन्धनबीच यस्ता खालका असन्तुष्टि र असमझदारी भरतपुरका वडावडामा छन् ।
यसपालि थपिएका मतदातामध्ये केही मत मेयरमा माओवादीले बढाउन सक्छ । तर काँग्रेसबाट माओवादीलाई अघिल्लो पटक भन्दा पनि कम मत आउँछ । यसको एउटै कारण हो, काँग्रेसबाटै बागी उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेल । भरतपुरको मतपत्रमा चुनाव चिन्ह रुख रहने भएका कारण कुनै उम्मेदवारलाई पनि मन नपराउने कतिपय काँग्रेसीहरुले आफ्नो मत बदर हुने जान्दाजान्दै पनि ‘रुख’ मा मत दिने अवस्था देखिएको छ । साथै शुरुमै गठबन्धनको निर्णय मानेपनि भरतपुरमा ‘मेयर काँग्रेसले पाउनुपर्छ’ भन्ने कार्यकर्ताको आवाजलाई जगन्नाथको उम्मेदवारीले सम्बोधन गरेका कारण माओवादीको चुनाव चिन्ह ‘हसिया हथौडा’ मा भन्दा स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह ‘भुईकटहर’ मा काँग्रेसजनको मत धेरै खस्ने सम्भावना छ । आफ्नो मत खेर फाल्न नचाहने काँग्रेसको एउटा समूह भने विजयलाई नै मत दिने तयारी छ ।
माओवादी कार्यकर्ताको एउटा पंक्ति मेयरमा रेणु दाहाललाई दोहो¥याएको कारण पनि असन्तुष्ट छ । पार्टीमा त्याग र बलिदान गरेका माओवादी कार्यकर्ताहरु प्रचण्डले सधै छोरी बोकेर आफूहरुको राजनीतिक भविष्य जोखिममा परेको बताइरहेका छन् । गठबन्धन भएका दलहरुको एकापसको भाडभैलोले पनि विजयलाई विजयी बन्ने आधार दिएको छ ।
एमाले एक ढिक्का
एमालेले भर्खर महाधिवेशन गरेर चितवनमा शक्ति प्रदर्शन समेत गरेको छ । एमाले अझ संगठित भएको छ । पार्टीबाट चोइटिएको एक समूहले ‘समाजवादी’ खोलेपनि यसको प्रभाव भरतपुरमा छैन । एमालेमा अहिलेका समाजवादीहरु रहँदा पनि विवाद हुन्थ्यो । तर पार्टीमै बसेर विवाद गरिरहनेहरु अहिले एमालेमा छैनन् । एमाले भरतपुरमा अझ संगठित भएको छ । महाविधेशन हुँदा एमालेले भरतपुरबाट आफ्नो दह्रो उपस्थिति देखाउँदै आएको छ । यहाँ पार्टी संगठन, संगठित कार्यकर्ता, शुभेच्छुक सदस्यहरुको पंक्ति ठूलो छ । अहिले एमालेमा कुनै विवाद नरहेको कुरा नेताहरुले बताउँदै आएका छन् । यस कुराले पनि विजयलाई विजय सम्भव छ ।
सर्वसम्मत उम्मेदवार
निर्वाचनमा उम्मेदवार बन्न धेरैले आकाँक्षा राखेका हुन्छन् । वडा सदस्यको सर्वसम्मत उम्मेदवार बन्न पनि कठिन भएको बेला विजय सुवेदी एमालेबाट भरतपुरमा सर्वसम्मत उम्मेदवार बन्नुभयो । महानगरको मेयरमा देवीप्रसाद ज्ञवाली र कृष्णभक्त पोखरेलको चर्चा भएपनि उहाँहरुले नै सुवेदीको प्रस्तावक र समर्थक बनेर एमालेले भरतपुरमा सर्वसम्मत उम्मेदवार खडा गरेको सन्देश दिनुभयो । यस कुराले पनि कार्यकर्ताको तहमा उत्साह थप्ने काममा सघाउ पुग्यो । सुवेदीको उम्मेदवारीसँगै अन्य नेता कार्यकर्ताको समर्थन अझ बढ्दै गयो । एमालेले समयमै विवादरहित तरिकाले सर्वसम्मत उम्मेदवार तय गरेसँगै विजय सुवेदीको सहज जितको लागि काम गरेको छ ।
जिम्मेवारी निभाउन सफल
स्याङ्जामा जन्मिएर, पाल्पा हुँदै चितवनसम्म आईपुग्दा उहाँले राजनीतिमा धेरै जिम्मेवारी बहन गरिसक्नुभएको छ । २०३६ सालमा रामपुर पाल्पामा रहँदा कम्युनिष्ट पार्टीको सम्पर्कमा आउनुभएका सुवेदीले सोही वर्ष पाल्पामा तत्कालीन नेकपा (माले) निकट युवा लिगको सदस्य हुनुभयो ।
उहाँ २०४७ सालमा एमाले चितवनको सचिवालय सदस्य हुनुभयो । तत्कालीन अवस्थामा नेतृत्वको भूमिका खेल्ने सचिव पद उहाँले २०४९ सालबाटै सम्हाल्नु भयो । नेकपा एमाले चितवनको २०४९–२०५०, २०६१–०६४ र २०६४–०६६ गरी तीन कार्यकाल सचिव बन्नु भयो । यो बीचमा २०५५ देखि २०५९ सालसम्म राष्ट्रिय परिषद् सदस्य भएर पार्टीको जिम्मेवारी सल्हानुभयो । २०६७ सालमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएर पनि उहाँले पार्टीको कामलाई निरन्तरता दिनुभयो । हाल नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिव रहनुभएका सुवेदीले राजनीतिमा पार्टीले दिएको जिम्मेवारी सधैं सफलतापूर्वक सम्पन्न गर्नुभएको छ ।
पार्टीमा यति जिम्मेवारी लिएर सफलता प्राप्त गरिरहँदा सुवेदीले चितवनमा उत्तिकै रुपमा सामाजिक क्षेत्रमा पनि काम गर्नुभएको छ । सार्वजनिक पदमा रहँदा राजनीतिक आँखाले कसैलाई हेर्न हुन्न भन्ने सुवेदीले जहिलेपनि ‘पाटी छाडि पद र पद छाडि पार्टी’ भन्ने नारालाई अंगिकार गर्नुभएको छ । पार्टीको जिम्मेवारीमा नरहँदा उहाँले धेरै सामाजिक क्षेत्रको क्षेत्रको नेतृत्व सम्हाल्नुभयो । तर त्यस क्षेत्रमा रहेका अन्य राजनीतिक विचार समूहलाई कहिल्यै पनि हेयको दृष्टिकोणले हेर्नुभएन । अब भरतपुर महानगरपालिकाको मेयर भएपछि यही नारालाई अंगिकार गर्ने धारणा राख्नुभएका सुवेदीलाई फरक राजनीतिक आस्था राख्ने भरतपुरका मतदाताले समेत उत्तिकै आस्था र विश्वासका साथ हेर्ने गरेका छन् । यो पनि विजय सुवेदीका लागि निर्वाचन जित्ने आधार हो ।
चुनावी एजेण्डा
भरतपुर महानगरपालिकामा विजय सुवेदीका चुनावी प्रतिबद्धता पृथक खालका छन् । उहाँ भन्नुहुन्छ–‘मेरो नेतृत्वमा वृहत चितवनको गुरुयोजना बनाएकै कारण अहिले चितवनको विकास यसैलाई मानक मानेर अगाडि बढेको छ । अब भरतपुर महानगरको नेतृत्वमा आएपछि पनि सर्वप्रथम म महानगरको गुरुयोजना बनाउँछु । यसैको आधारमा विकास गर्छु । यहाँका सबै नागरिकको अभिलेख कम्प्युटरमा राखेर उहाँहरुसँग आवश्यकता अनुसार सहकार्य गरेर आफ्ना कामलाई अगाडि बढाउँछु ।’
विजय सुवेदीले अगाडि सारेका सबै प्रतिबद्धता सरसर्ती अध्ययन गर्दा भरतपुर विकासको सम्भावना भएको महानगर हो । केही बाटाघाटा निर्माण भएकै भरमा यहाँ विकास भएको मान्न सकिन्न । महानगरमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकास समेत सँगसँगै भएको खण्डमा मात्रै विकासले गति लिन सक्छ । सुवेदीको काम गर्ने तरिका पनि यस्तै छ । स्थानीय निर्वाचनका क्रममा घरदैलोको क्रममा देखिएको उत्साह र बाँडिएको चुनावी एजेण्डाले पनि विजयलाई यस निर्वाचनमा सहज पनि बनाएको मान्न सकिन्छ ।
तपाइँको प्रतिक्रिया