‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक

काठमाडौं, २४ जेठ । खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित पुस्तक ‘नेपाली रैथाने जडीबुटी’ सार्वजनिक भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री माननीय गगनकुमार थापा, जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेल, समीक्षक राजकुमाार बानियाँ, राजनैतिक विश्लेषक शंकर तिवारी, लेखक नारायण घिमिरे र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तकका बारेमा पूर्वमन्त्री तथा प्रमुख अतिथि थापाले नेपाली रैथाने जडिबुटी निर्यात गरेर व्यापार घाटामा न्यूनीकरण गर्न सकिने बताए । योग, आयुर्वेद, रैथाने ज्ञान र जडीबुटीलाई पर्यटनसँग मिलाएर लैजानु पर्ने थापाले बताए ।
अमेरिकामा विश्वविद्यालयका प्राध्यापक समेत रहेका आमोद पोखरेलले रैथाने जडीबुटीका बारेमा खँदिलो जानकारी भएको बताए । नेपालमा प्राप्त औषधिजन्य जडिबुटीको क्लिनिकल ट्रायल गर्न सके नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने उनले बताए ।
समीक्षक राजकुमार बानियाँले विदेशमा उच्च ओहोदामा बसेर नेपाली स्थानीय परिवेशमा सारै उपयोगी पुस्तक आएको बताए । विश्लेषक शंकर तिवारीले सरल भाषाशैलीमा सुन्दर पुस्तक आएको बताउँदै लेखकलाई धन्यावाद दिए ।
लेखक नारायण घिमिरेले नेपालको जडीबुटीलाई विश्व बजारले महत्वको साथ हेरेको र नेपाललाई खाद्य अनुसन्धानको केन्द्र बनाउनु पर्ने बताए । कवि रञ्जना निरौलाद्वारा संचालित कार्यक्रम शिखा बुक्सका पुष्पराज पौडेलको अध्यक्षतामा भएको थियो । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य रु. ३२५l– रहेको छ ।
तपाइँको प्रतिक्रिया