सल्लाघारीमा रुख ढलेर बस र स्कुटर च्यापिँदा ३ जनाको मृत्यु, १२ जना घाइते

भक्तपुर, ८ साउन । भक्तपुर नगरपालिका–१ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई सल्लाको रुख ढलेर च्याप्दा तीन जनाको मृत्यु भएको हो । उक्त घटनामा १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
मृत्यु हुनेमा एक जना नितेज खर्बुजा रहेको र अरु दुई जनाको पहिचान नभएको प्रजिअ शर्माले बताइन् । नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताइन् । उनका अनुसार भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।
रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक मिनीबस र स्कुटर किच्दा बसमा रहेका दुई जना र स्कुटर चालक एक जनाको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले जानकारी दिए ।
यसैबीच, घटनामा घाइते भएकाहरूको यथाशिघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले भक्तपुर प्रशासनलाई निर्देशन दिएका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई फोन गरेर उनले यथाशिघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । उनले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिएको उनका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए ।
तपाइँको प्रतिक्रिया