चितवनमा गठबन्धनभित्र भागबन्डाको सकस

चितवन, ९ वैशाख । सत्तारूढ गठबन्धनले भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति गरेसँगै चितवनका बाँकी स्थानीय तहमा पनि तालमेलको तयारी सुरू भएको छ । तर नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा भने उम्मेदवार टुंग्याउन सकस देखिएको छ ।
नेपाली कांग्रेसको जिल्ला समितिले केही दिनअघिसम्म भरतपुरको मेयर आफूले नपाउँदासम्म अरूमा तालमेलको छलफल सुरू हुनै नसक्ने अडान लिँदै आएको थियो । गठबन्धनमा भएको सहमति कार्यान्वयन गर्न पार्टीको केन्द्रले निर्देशन दिएपछि चितवनमा गएको बुधबारदेखि तालमेलको छलफल सुरू भएको हो ।
भरतपुरको मेयरमा उम्मेदवारी दिन नपाएको कांग्रेसमाथि उसले दाबी गरेका अन्य पालिकाका प्रमुख, उपप्रमुख पद पनि छाड्न दबाब परेको छ । नेपाली कांग्रेसले जिल्लाका ७ मध्ये कम्तीमा ४ स्थानीय तहको प्रमुख मागेको छ । कांग्रेसले रत्ननगर, खैरहनी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका छाड्न चाहेको छैन ।
माओवादीले माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा दाबी गरेको छ । गत निर्वाचनमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुबै पद कांग्रेसले जितेको थियो । राप्ती नगरपालिकाको प्रमुख भने नेकपा एकीकृत समाजवादीलाई दिन गठबन्धन सहमत भएको छ ।
‘प्रारम्भिक छलफलमा अन्य चार दलले आफ्नो जनमत नै नभएको ठाउँमा प्रमुख पद दाबी गरेका छन् । ९० प्रतिशतभन्दा बढी वडाध्यक्षमा दाबी गरेका छन्,’ नेपाली कांग्रेस चितवनका एक पदाधिकारीले भने, ‘जताततै कांग्रेसलाई नै पेल्न खोजिएको छ । तैपनि केन्द्रको निर्देशन भएकाले छलफल गरिरहेका छौं ।’
नेकपा एमालेले भने ६० प्रतिशतभन्दा बढी वडाध्यक्षको उम्मेदवार सर्वसम्मत भइसकेको दाबी गरेको छ । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले भरतपुरका २० वटा वडाका उम्मेदवार सर्वसम्मत भएर घरदैलो अभियानमा लागिसकेको बताए । ‘अन्य स्थानीय तहहरूमा पनि प्रायः वडामा सर्वसम्मत भएको छ’ उनले भने ।
तपाइँको प्रतिक्रिया