श्रीलंकन क्रिकेटर दनुस्का बलात्कार आरोपमा पक्राउ

काठमाडौं, २० कात्तिक । आईसीसी ट्वान्टी–२० विश्वकपका लागि टिमसँगै रहेको श्रीलंका राष्ट्रिय क्रिकेट टिमका दनुस्का गुणाथिलका यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।
टिम स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ३१ वर्षीय गुणथिलका आइतबार पक्राउ परेको खुलाएका छन् ।
नोभेम्बर २ मा यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले उजुरी दिएपछि उनलाई आइतबार दिउँसो सिड्नी पुलिसले पक्राउ गरेको हो ।
‘दनुस्का गुणाथिलका बलात्कारको आरोपमा पक्राउ परेका छन् । यसैकारण श्रीलंकन टिम उनीबिनै स्वदेश फर्किएको छ,’ टिम स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
बायाँ हाते ब्याटर दनुस्काले विश्वकपअन्तर्गत पहिलो चरणमा नामिबियासँगको खेल खेलेका थिए । यो खेलमा डक आउट भएका उनी त्यसपछि भने चोटका कारण प्रतियोगिताबाट बाहिरिएका थिए ।
प्रतियोगितामा श्रीलंकाले पहिलो चरणबाट सुपर–१२ को यात्रा तय गरेपनि त्यसभन्दा अगाडि बढ्न सकेन । सुपर–१२ को समूह–१ मा श्रीलंका चौथो स्थानमा सीमित बन्यो । एजेन्सी
तपाइँको प्रतिक्रिया