देवचुलीको मेयर बन्न उपसचिवबाट राजीनामा गरेका भुसाल टिकट नपाएपछि हिस्स

देवचुली, १३ वैशाख । नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका बिष्णुप्रसाद भुसाललाई नेपाली कांग्रेसले टिकट दिएन । सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसालले टिकट पाउन सकेनन् ।
कांग्रेसका नेता डा. शशांक कोइराला तथा जिल्ला स्तरीय नेताहरुले टिकटको आश्वासन दिए पनि उनले अन्ततः टिकट भने पाएनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट भुसालले दिएको राजीनामा स्वीकृत भइसकेको भने छैन ।
देवचुली गाउँपालिकाको कांग्रेस सभापति पनि रहिसकेका भुसालले लोकसेवा आयोग हुँदै निजामती सेवा प्रवेश गरेपछि राजनीति छाडेका थिए । उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए ।
देवचुलीमा कांग्रेसले अशोक बस्ताकोटीलाई मेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रलाई उपमेयर दिएर यी दुई दलबीच नगरपालिकामा गठबन्धन भएको छ ।
तपाइँको प्रतिक्रिया