धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

धरान, ८ जेठ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई साम्पाङ विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनाका अनुसार ३९ वर्षीय राईले २० हजार ८ सय २१ मतसहित मेयरमा विजयी भएका हुन् ।
उनले गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतको अन्तरले पराजित गरेका छन् । ५४ वर्षीय किशोर राईले १६ हजार ५० मत प्राप्त गरेका छन् ।
नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी १२ हजार ८ सय २५ मत ल्याएर तेस्रो स्थानमा सीमित भइन् । ३९ वर्षीया भण्डारी २०७४ सालमा एमालेबाट धरानको उपमेयरमा विजयी भएकी थिइन् ।
गठबन्धनतर्फबाट नेकपा माओवादीका आइन्द्र विक्रम बेघा २० हजार ५ सय १० मतसहित उपमेयरमा विजयी भएका छन् । उनले नेकपा एमालेका पदमप्रसाद लिम्बुलाई २ हजार ९ सय ४ मतको अन्तरले पराजित गरे । लिम्बूले १७ हजार ६ सय ६ मत पाएका थिए ।
धरानमा २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरतर्फ नेकपा एमालेका डा। तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी विजयी भएकी थिइन् । तारा सुब्बाको निधनपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राईले जित हात पारेका थिए ।
धरान उपमहानगरपालिकामा नेकपा एमालेले १० वटा वडा, नेपाली कांग्रेसले ७ वटा वडा, नेकपा माओवादी, राप्रपा र स्वतन्त्रका उम्मदेवारले समान १ वडामा जित निकालेका छन् ।
तपाइँको प्रतिक्रिया