पाँच दिनभित्र मतगणना सक्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ, ४ जेठ । निर्वाचन आयोगले विभिन्न कारण स्थगन भइ मतदान सम्पन्न भएका पालिकाहरुको मतगणना पाँच दिनभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।
‘विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशिघ्र गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न—गराउन आयोग निर्देश गर्दछ,’ आयोगद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।
गत वैशाख ३० गते मतदान सञ्चालनकै क्रममा केही पालिकाका केही मतदान केन्द्रमा मतदान स्थगन भएको थियो। यस्ता मतदान केन्द्रहरुमा मतदान भइरहेको छ । निर्वाचन सम्पन्न भएका पालिकाहरुको मतगणना कार्य प्रारम्भ भइ बुधबार मध्यान्हसम्म चार सय ६० पालिकाहरुको अन्तिम परिणाम प्राप्त भइसकेको आयोगले जनाएको छ ।
धेरै मत गणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकाहरुका हकमा बढीभन्दा बढी मत गणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्नका लागि यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोगले पुनः स्मरण गराएको छ ।
विद्यमान कानूनी व्यवस्थाबमोजिम बहालवाला स्थानीय जनप्रतिनिधिहरुको पदावधि यही जेठ ५ गतेसम्म रहेको छ । तत्पश्चात स्थानीय सरकारमा जनप्रतिनिधिविहीन हुने अवस्थालाई मध्यनजर गरी जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरी नयाँ जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न पनि आयोगले निर्देशन दिएको छ ।
तपाइँको प्रतिक्रिया