गैँडाकोटवासीलाई लो भोल्टेजको समस्या

गैँडाकोट, २५ जेठ । गैँडाकोटमा विद्युत लो भोल्टेज र लाइन काटिने समस्या जस्ताको तस्तै रहेको छ । वर्षौदेखि यहि समस्या भोग्दै आएका गैडाकोटवासीले अझैपनि यो समस्याबाट मुक्ति भने पाएका छैनन् । बेला–बेला विद्युत आउने जाने र विद्युत आउँदा पनि भोल्टेज लो आउने समस्याले गर्दा नगरवासीहरु हैरान भएका छन ।
लो भोल्टेजको समस्या वर्षौदेखि भोग्दै आएका गैँडाकोट–६ का स्थानियले बुधबार नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखामा पत्र समेत बुझाएका छन् । सगरमाथा टोलविकास संस्थाका अध्यक्ष गणेश पौडेलको नेतृत्वमा आएको टोलीले गैँडाकोट प्रशाखा प्रमुख सुजन रिजाल समक्ष पत्र बुझाएको हो । पत्रमा उनीहरुले आफ्नो टोलमा हुने लो भोल्टेजको समस्या तत्काल समाधान गर्नुपर्ने विषय उल्लेख गरेका छन् ।
पत्र बुझाइसकेपछि मुकुन्दसेन टेलिभिजनसंग कुराकानी गर्दै अध्यक्ष पौडेलले लो भोल्टेजकै कारणले घरमा रहेका विद्युतका सामग्रीहरु विग्रने गरेको बताउनुभयो । विद्युतकैै कारणले योजनाअनुसारको कार्य सम्पादन गर्न नसक्ने, गर्मीको समयमा एसी, पंखा, फ्रिज नचल्ने हुँदा निकै सास्ती पुगेको उहाँको भनाई थियो ।
टोलविकास संस्थाले बुझाएको पत्र बुझ्दै गैँडाकोट प्रशाखा प्रमुख रिजालले गैँडाकोटमा ट्रान्सफर्मर टाढा–टाढा भएको कारण कम भोल्टेजको समस्या आएको उल्लेख गर्नुभयो । गैँडाकोट–६ को हकमा गतसाल ट्रान्सफर्मर राख्ने योजना भएपनि पछि जग्गाधनीले मञ्जुरी नदिएको कारणले रोकिएको प्रमुख रिजालले स्पष्ट पार्नुभयो । ट्रान्सफर्मर राख्ने जग्गाको व्यवस्था स्थानीय आफैले गछौँ भनेका कारण अब यो समस्या शीघ्र समाधान हुने उहाँको भनाई थियो ।
अहिले वर्षायाम भएको कारण हावापानीले रुखका हाँगा भाँच्ने समस्याका साथै हरिया रुखहरुलाई छोएका विद्युतका नाङ्गा तार मर्मत गर्दा समेत विद्युत अनिश्चित हुने गरेको प्रशाखा प्रमुख रिजालको भनाई छ ।
तपाइँको प्रतिक्रिया