गैँडाकोटको लखनचोकमा आदिवासी जनजाति संग्रहालय बन्ने

गैँडाकोट, ९ असार । गैँडाकोटमा नेपाल आदिवासी जनजाति संग्रहालय बन्ने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गैँडाकोट नगर समन्वय समिति नवलपुरले संग्रहालय निर्माण गर्न लागेको हो ।
गैँडाकोट ३,४ र ८ को लखनचोकमा निर्माण हुन लागेको भवनको बिहीबार नगर प्रमुख मदनभक्त अधिकारीले शिलन्यास गर्नुभएको छ । नगर प्रमुख अधिकारीले नगरपालिकामा आदिवासी जनजातिको पहिचानलाई प्रवद्र्धन गर्ने हिसाबको संग्रहालय निर्माण हुनु गर्वको कुरा भएको बताउनुभयो । उहाँले भवन निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समितिका अध्यक्ष ललितबहादुर गुरुङले परम्परागत सामग्रीको प्रयोग गरी संग्रहालय निर्माण गर्न लागिएको उल्लेख गर्नुभयो । उहाँले संग्रहालयमा घरभित्र र बाहिर प्रयोग हुने, आदिवासी जनजातिले प्रयोग गर्ने हाल लोप भैसकेका र लोपोन्मुख सामग्री राखिने उल्लेख गर्नुभयो ।
उहाँका अनुसार १५ करोडभन्दा बढी लगानीमा भवन निर्माण सम्पन्न हुनेछ । त्यसका लागि प्रदेश सरकार र गैँडाकोट नगरपालिकाले दुई पटकसम्म बजेट विनियोजन गरिसकेको उहाँले उल्लख गर्नुभयो । अपुग रकम गैँडाकोट नगरपालिकासँग समन्वय गर्ने र स्थानीयसँग पनि घरदैलो गरेर रकम संकलन गर्ने तयारी रहेको अध्यक्ष गुरुङको भनाई थियो ।
भवन शिलान्यास कार्यक्रममा नगरपालिका उपप्रमुख शान्ति कोइराला, गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारी, ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरे, ८ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटा, नगर कार्यपालिका सदस्य शान्ता भुजेल लगायतको उपस्थिति रहेको थियो । संग्रहालय १५ करोड ५४ लाख ७७ हजार १९७ रुपैयाँमा निर्माण सम्पन्न हुनेछ ।
नेपाल आदिवासी जनजाति महासंघ गैँडाकोट नगर समन्वय समितिका सचिव राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको सो कार्यक्रममा उपाध्यक्ष कोकीसरा राना मगरले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया