शपथ खाएको एक महिना नपुग्दै वडा सदस्यले गरे ग्राभेल पचाउने हर्कत

गैँडाकोट, ५ असार । देशमा स्थानीय तहको निर्वाचन सम्पन्न भई नयाँ जनप्रतिनिधिले पदबहाली गरेको भर्खरै एक महिना पुगेको छ । नवलपरासी (बर्दघाटसुस्तापूर्व) का आठ वटा स्थानीय तहमध्ये गैँडाकोट नगरपालिकामा १८ वटा वडा छन् । ती वडामा चुनिएर आएका वडाध्यक्षदेखि वडा सदस्यसम्मले काम सुरु गरिसकेका छन् । जनताको काम गर्नुपर्ने केही जनप्रतिनिधिले भने निजी स्वार्थका लागि काम गरेको पाइएको छ ।
गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले गएको जेठ ६ गते गैँडाकोट नगरपालिकामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुलाई लोभलालच नगर्नु भनेर सम्झाईबुझाई गरे । तर मुलुक र जनताप्रति पूर्ण वफादार रही प्रचलित कानुन अनुसार काम गर्छौं भनी शपथ लिएकामध्ये केही जनप्रतिनिधिले भने राज्यको सम्पत्तिमा ¥याल काढ्न थालेका छन् ।
यस्तै लोभी जनप्रतिनिधिमध्ये एक हुन् गैँडाकोट नगरपालिका वडा नम्बर १६ का वडा सदस्य रत्नबहादुर बोहरा । अमरापुरीमा रिसोर्ट निर्माण गरिरहेका वडा सदस्य बोहराले बाटोमा खन्याउनु पर्ने ग्राभेलमध्ये केही ग्राभेल निर्माणाधीन रिसोर्ट परिसरमा थुपारे । स्थानीयले विरोध गरेपछि गएको शुक्रबार बिहान केही ग्राभेल उठाएर अन्त लगिएपनि आधाभन्दा बढी ग्राभेल अझै रिसोर्ट प्रवेश गर्न पर्खालले घेरेर बनाइएको निजी बाटोमा सम्याइएको छ ।
नयाँ वडा सदस्यको यस्तो हर्कतले अमरापुरीवासी निरास बनेका छन् । सार्वजनिक बाटोमा खन्याउनु पर्ने ग्राभेल निजी ठाउँमा प्रयोग गरिएको स्थानीय सुरेश पोखरेल बताउँछन् । जनप्रतिनिधि भएर सरकारी सम्पत्तिको लोभ गर्दै अनियमित काम गर्नु धेरै नै गलत काम भएको उनले बताए ।
स्थानीयको विरोधपछि केही ग्राभेल उठाएर अन्यत्रै लैजाने काम भए पनि अझै निर्माणाधीन रिसोर्ट परिसरमा पाँच ट्याक्टरभन्दा बढी ग्राभेल सम्याइएको अवस्थामा छिरलिएको छ । जनताको प्रतिनिधि भनेकाले जनताको आवश्यकता होइन, निजी आवश्यकता पूरा गर्नेतर्फ लाग्नु गलत भएको बताउँछन् अर्का स्थानीय सञ्जय थापा । उनी भन्छन्, ‘बाटोमा खन्याउनु पर्ने ग्राभेल निजी जग्गामा खन्याउने काम गलत हो भनेर हामीले आवाज उठाउँदा हामीलाई नै गाउँनिकाला गर्नेसम्मको धम्की दिएका छन् । गल्ती भयो भनेर माफी माग्नु पर्ने ठाउँमा उल्टै दादागिरी देखाएका छन् ।’
ग्राभेल अनियमितताबारे हामीले वडा सदस्य रत्नबहादुर बोहरासँग टेलिफोन सम्पर्क ग¥यौँ । जनप्रतिनिधि भएर तपाइँले बाटोमा खन्याउनु पर्ने ग्राभेल आफ्नै रिसोर्टमा किन खन्याउनु भयो ? भनी प्रश्न ग¥यौँ । आफू घरमा रहेका बेला छोराहरु गएर ग्राभेल झारेको वडा सदस्य बोहराको जवाफ थियो । उनले भने, ‘घरमा इनारमा बोका खसेपछि त्यसलाई निकाल्ने काममा म व्यस्त भएँ । त्यही समयमा छोराहरु गएर ग्राभेल झारेछन् ।’
वडा सदस्य बोहराको लालची कृत्यबारे हामीले वडाध्यक्ष विनोदकुमार मल्लसँग पनि टेलिफोन सम्पर्क गरेका छौँ । जनप्रतिनिधि भएर आफूले रिसोर्ट बनाइरहेको ठाउँमा ग्राभेल झार्नु बोहराको गल्ती भएको वडाध्यक्ष मल्लको भनाइ छ । ‘वडा सदस्य बोहराले गल्ती गरेका छन् । मैले जनप्रतिनिधि भएर यस्तो किन गर्नुभयो ? अब त्यहाँको ग्राभेल अन्त लगेर झार्नुहोस् भनेर सम्झाएको छु ।’ आफू दुई दिन वडामा नहुँदा वडा सदस्य दिनेश देवकोटालाई ग्राभेल झार्ने जिम्मा लगाएको भन्ने वडाध्यक्ष मल्लको भनाइ थियो ।
वडाध्यक्ष मल्लको भनाइलाई छड्केजाँच गर्न हामीले वडा सदस्य देवकोटासँग टेलिफोन सम्पर्कको प्रयास ग¥यौँ । उनले आफू खाना खान गएका बेला ट्याक्टर चालकले बोहराको रिसोर्ट बनिरहेको ठाउँमा ग्राभेल खसालेको बताए । झराही खोलामा ग्राभेल खुलेका बेला ट्याक्टरमा ग्राभेल ल्याइएको र अन्त झार्नु भनेको ग्राभेल बोहराको रिसोर्ट बनिरहेको ठाउँमा चालकले झारेको उनको भनाइ छ ।
लोभलालचमा परेर काम गरेका जनप्रतिनिधिले जतिसुकै बहाना बनाएपनि उनीहरुबाट गलत काम भएको उदाङ्गो भइसकेको छ । अब हेर्नुछ, लोभलालच नगर्नु, गरे सैह्य हुँदैन भनेका गैँडाकोटका मेयरले कस्तो कदम चाल्नेछन् ? गाउँगाउँमा जनता जागिसकेका छन्, कुनै पनि जनप्रतिनिधिले गलत काम गर्ने हिम्मत नगर्नु नै समाजका लागि फाइदाजनक हुनेछ भन्ने हेक्का रहोस् ।
तपाइँको प्रतिक्रिया