काम गर्ने ठाउँमा जनप्रतिनिधि नहुँदाको परिणाम : गैँडाकोटको ग्राभेल काण्ड

गैँडाकोट, ६ असार । सही समयमा सही ठाउँमा सही मान्छे भएन भने कामको परिणाम राम्रो आउँदैन । यस्तै भएको छ गैँडाकोट नगरपालिका वडा नम्बर १६ अमरापुरीमा । वडा नम्बर १६ का वडा सदस्य रत्नबहादुर बोहराका भतिजा दिनेश बोहराले आफ्नो परिचय लुकाई मिडियालाई झुक्याउँदा त्यसको मारमा अर्का वडा सदस्य दिनेश देवकोटा पर्नुभएको छ ।
मुकुन्दसेन टेलिभिजनसँगको टेलिफोन संवादमा दिनेश बोहराले आफूलाई दिनेश देवकोटा झैँ प्रस्तुत गर्नुभएको थियो । धान खाने मुसो, चोट पाउने भ्यागुतो भने झैँ भयो वडा सदस्य देवकोटालाई । गैँडाकोटको ग्राभेल काण्डबारे देवकोटाले प्रष्टीकरण दिँदै आफ्नो जिम्मेवारी ग्राभेल उठाउने ठाउँमा भएको बताउनु भयो ।
वडा सदस्य दिनेश देवकोटालाई भन्दा ठूलो पिर अर्का वडा सदस्य रत्नबहादुर बोहरालाई प¥यो । बाटोमा ग्राभेल खसाल्ने दिन आफू साइटमा नहुँदा भतिजा दिनेशले गडबड गरेको उहाँको भनाइ छ ।
साइटमा अनाधिकृत व्यक्तिको चलखेलले गैँडाकोट वडा नम्बर १६ लाई बदनाम गराउने काम भएको वडाध्यक्ष विनोदकुमार मल्ल बताउनु हुन्छ । आफू र आफ्नो टिमलाई पाँच वर्षसम्म काम गर्न दिन उहाँले आग्रह गर्नुभएको छ ।
मिडियालाई झुक्याउने दुस्साहस गर्ने दिनेश बोहराले अनाधिकृत रुपमा आफ्नै निर्माणाधीन रिसोर्ट परिसरमा ग्राभेल थुपारेपछि यसको तरंगले नगरपालिकासम्मलाई छोएको छ । सञ्चारमाध्यममा अमरापुरीको ग्राभेल काण्ड छताछुल्ल भएपछि यो खबर गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीसम्म पुगेको छ । आफू सुशासनमा प्रतिवद्ध रहेको बताउँदै नगरप्रमुख अधिकारीले गल्ती गर्नेलाई कारबाही हुने चेतावनी दिनुभएको छ ।
सार्वजनिक जिम्मेवारीमा बसेकाहरुले अनियमितता नगरुन्, विधिसम्मत काम गरुन् भन्ने नै मिडियाको चाहना हो । हाम्रो समाजलाई जिम्मेवार बनाउने काममा जनताको साथ र सहयोग जनप्रतिनिधिलाई जस्तै मिडियालाई पनि चाहिन्छ । मिडियालाई झुक्याउने काम कसैले पनि नगरौँ । भ्रष्टाचारको अन्त्य गरी समृद्ध समाज निर्माण गरौँ ।
तपाइँको प्रतिक्रिया