गैँडाकोटमा २८ औं विश्व आदिवासी दिवस भव्यरुपमा मनाइँदै

गैँडाकोट, २२ साउन । विश्वका आदिवासीहरुले हरेक वर्षको ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउँदै आएको छन् । नेपालमा पनि यो कार्यक्रम भव्यताका साथ बर्सेनि मनाउने गरिएको छ ।
यसै अवसरमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद, गैँडाकोटले यो दिवस भव्यरुपमा मनाउने तयारी गरेको परिषदका अध्यक्ष ललितबहादुर गुरुङले बताउनु भयो ।
गैँडाकोट ३, ४ र ८ मा पर्ने निर्माणाधीन आदिवासी संग्रहालय परिसर लखनचोकमा साउन २४ गते मंगलबार विविध साँस्कृतिक कार्यक्रमसहित विश्व आदिवासी दिवस मनाउन लागिएको हो । दिवसको मूल समारोह सुरु हुनुपूर्व गैँडाकोट नगरपालिका परिसरबाट कार्यक्रमस्थलसम्म झाँकीसहितको ¥याली निकालिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
विगतका वर्षमा कोभिड महामारीका कारण हर्षोल्लासपूर्वक चाहे जसरी आदिवासी दिवस मनाउन वातावरण अनुकूल थिएन । अहिले भने धेरैजसोले कोभिडविरुद्ध खोप लाइसकेकोले आफूहरुले यो दिवस भव्यरुपमा मनाउन लागेको अध्यक्ष गुरुङले बताउनु भयो ।
विश्व आदिवासी दिवस मनाउन स्थानीय सरकार गैँडाकोट नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिनुपर्ने आफूहरुको माग रहेको गुरुङ बताउनुहुन्छ । उहाँले सरकारी विद्यालयले स्थानीय बिदा दिन सक्ने भएको र निजी शैक्षिक संस्था मंगलबार बन्द गरिदिन प्याब्सनसँग अनुरोध गरिएको बताउनुभयो ।
अध्यक्ष गुरुङले मंगलबार बिहान १० बजे गैँडाकोट नगरपालिका परिसरबाट निकालिने झाँकीसहितको ¥याली र मध्याह्न १२ बजेबाट लखनचोकमा सुरु हुने साँस्कृतिक कार्यक्रमसहितको मूल समारोहमा सहभागी भइदिन गैँडाकोटवासीलाई आग्रह गर्नुभएको छ ।
तपाइँको प्रतिक्रिया