गैँडाकोटबाट एसइई उत्तीर्ण विद्यार्थीहरुलाई संघ र सर्कलले सम्मान गर्ने

गैँडाकोट, १८ साउन । गैँडाकोट नगर क्षेत्रबाट २०७८ सालको एसइई उत्तीर्ण विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघ पालिका समन्वय समिति गैँडाकोट र सुशील कोइराला सोसलिष्ट युथ सर्कल नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले आगामी शनिबार गैँडाकोटमा एक कार्यक्रमको आयोजना गरी सम्मान गर्ने भएका छन् । आयोजक दुई संस्थाले बुधबार गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मान कार्यक्रमबारे जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थाहरुलाई धन्यवाद दिनुभयो ।
पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै सोसलिष्ट युथ सर्कलका जिल्ला अध्यक्ष पवन कार्कीले विद्यार्थीहरुलाई प्रेरणा पुगोस् भनेर विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरिएको बताउनु भयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका नेविसंघ नगर संयोजक रमेश कोइरालाले साउन २१ गते आयोजना गर्न लागिएको कार्यक्रममा एक हजार तीन सय ५१ जना विद्यार्थीलाई मायाको चिनो र प्रमाणपत्रबाट सम्मान गरिने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस महासमिति सदस्य गोकुल सापकोटा, गैँडाकोट ९ का वडा सदस्य ज्ञानप्रसाद खनाललगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया