“अब भ्यूटावरमा बसेर हाम्रै पीडा हेर्ने त होलान्”

– विन्दु वाग्ले लम्साल/
गैँडाकोट, ५ वैशाख । गैँडाकोट नगरपालिकातर्फ नारायणी किनारका वासिन्दालाई सधैँभरि वर्षामा कसरी ज्यान जोगाउने भन्ने पिरलोले छाड्दैन । निर्वाचनका बेला नदी तटबन्धनलाई मुख्य एजेण्डा बनाएर नेताहरु मत माग्न आए पनि अहिलेसम्म कुनै सुनुवाई नहुँदा स्थानीयलाई बास जोगाउने पिरले छाडेको छैन ।
स्थानीय नन्दलाल न्यौपानेलाई यसपालिको वर्षामा घरले ओत दिन्छ कि दिँदैन भन्ने पिरले सताएको छ । उनको १४ जनाको परिवार ओत लाग्ने घरलाई वर्षैपिच्छे आउने बाढीले हिर्काउँछ । भोट हालेर जिताएका जनप्रतिनिधिले आफूहरुको गुनासो सुनुवाई नगरेको न्यौपाने बताउँछन् । देशमा भ्यूटावर निर्माणमा मात्र सरकारले ध्यान दिएको र तिनै टावरबाट सरकारले जनताको पीडा हेरेर रमाएको गुनासो उनले गरे ।
“गाह्रो असुविधा के कुरामा छ, त्यो हामी सम्पूर्ण कुरा पूरा गर्छौं भन्दै भोट माग्न आएका थिए, पहिला हामीलाई नमस्कार गर्दै आए, अहिले हामीले नमस्कार गर्दा पनि देख्दैनन्” उनले भने, “नेपालमा जतासुकै भ्यूटावर मात्र निर्माण भएका छन् । जनताको पीडा एकातिर विकास निर्माण अर्कातिर छ । अब भ्यूटावरमा बसेर हाम्रै पीडा हेर्ने त होलान् नि ।”
नारायणी पुल नजिकै रहेको यस टोलमा करिब १५० वटा घर छन् । आफूहरुले भोट दिएर जिताएकाहरु चुनावपछि फर्केर नआएको स्थानीय ६० वर्षीया मनमाया आलेले गुनासो गरिन् । नदी किनारमा ठेला राखेर सानोतिनो व्यापार गरी गुजारा चलाउँदै आएकी आलेको घरबाट गत साल बाढीले सामान बगाएको थियो ।
चुनाव जितेर गएकाहरुले आफूहरुलाई बाढीबाट जोगाउन त परै जाओस्, घर डुबानमा परेकाहरुलाई भनी राहत वितरण गरे पनि उनले पाउन सकिनन् । राहत माग्दा “किनारमा बस्नेलाई सधैँ राहत दिन सकिँदैन” भन्ने खप्की खानु परेको उनको भनाइ छ ।
“पोहोरको बाढीले सबै सामान बगायो, पाँच दिनसम्म घरमा खाना बनाउन पाइएन । अर्काको घर गएर ज्यान जोगाएका थियौँ,” आलेले भनिन्, “राहत दिँदा पनि तिमीहरु घर भएकालाई दिन्नौँ भनेर दिएनन् । अब अहिलेको वर्षा कसरी कटाउने हो ? पिर मात्रै छ ।”
नदी किनारमै बाँसका विभिन्न सामग्री बनाएर बेचविखन गरी गुजारा चलाउँदै आएकी सविता श्रेष्ठले अब कसैलाई पनि भोट नदिने टुंगोमा पुगेकोे बताइन् । बाढीले बर्षेनी असर गर्दै आए पनि आफूहरुको लागि नदी तटबन्धन गर्न नसक्नेहरुलाई भोट दिएर जिताउनुको कुनै औचित्य नरहेको श्रेष्ठले बताइन् । उनले भनिन्, “पहिला भोट माग्न आउँदा नदी तटबन्धन गर्दिन्छौँ भनेका थिए, केहि गर्न सकेनन् । अहिले त सिधै भोट दिन्न भन्ने हो । कसैलाई भोट दिएर केही हुनेवाला रहेनछ ।”
यहाँ अधिकांश घरहरु टिनले छाएका छन् । स्थानीयले बाँसका विभिन्न सामग्री बनाउने र नदी किनारमा ठेला राखेर सानोतिनो व्यापार गर्ने गर्दछन् । २०७४ सालको निर्वाचनका बेला नेताले देखाएका आशा पूरा नभएपछि यहाँका वासिन्दामा निराशा छाएको छ ।
तपाइँको प्रतिक्रिया