श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी चितवनकी गीता माझीको उपचारको क्रममा मृत्यु

चितवन, १७ जेठ । श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी चितवन खैरहनीकी गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ । माझीको सोमबार राति भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
प्रत्यक्षदर्शीकाअनुसार श्रीमानले उनको मलद्वारबाट लौरो छिराएर यातना दिएका थिए। उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेकाअनुसार मलद्वारबाट लौरो घुसाउँदा माझीको यौनाङ्ग र मलद्वारबीचको भाग च्यातिएको थियो। श्रीमानको कुटाईबाट ३८ वर्षीया माझीको कम्मरको हड्डी पनि भाँचिएको थियो।
स्थानीयबासिन्दाले थाहा पाएपछि श्रीमानलाई प्रहरीको जिम्मा लगाएर गीतालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। अस्पतालले उनको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो।
खैरहनी नगरपालिका वडा नम्बर १० कठार घर भएकी ३८ वर्षीया माझीलाई उनका श्रीमान रामचन्द्र माझीले पटक–पटक कुटपिट गर्दै आएका थिए । पछिल्लो पटक रामचन्द्रले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् ।
गत बिहीबार घाइते भएकी माझीको सोमबार दिउँसो शल्यक्रिया गरिएको थियो । तर राति १२ बजेतिर एक्कासी मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
गीताका ४० वर्षीय श्रीमान रामचन्द्र माझी प्रहरीको नियन्त्रणमा छन्। उनीविरुद्धमा प्रहरीमा उजुरी परेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले गम्भीर प्रकृतिको घटना भएका कारण प्रहरीको प्रतिवेदनकै आधारमा अनुसन्धान गरिरहेको जानकारी दिए ।
गीताका तीन छोरी छन् । एउटीको विवाह भइसकेको छ । दुई जना नवलपरासीस्थित मामाघरमा बस्दै आएका छन् । खैरहनीको माझी बस्तीमा बस्ने यो परिवार नजिकै रहेका खोलामा माछा मारेर जीवन चलाउने गर्दथ्यो । स्थानीय ज्ञान्ती पासवानकाअनुसार पहिले पनि गीता र रामचन्द्रका बीचमा मदिरा सेवनपछि झगडा हुने गर्दथ्यो । ‘यो पटक त गीताले सहनै नसक्ने यातना पाइन्,’ स्थानीय जनप्रतिनिधिसमेत रहेकी पासवानले भनिन्, ‘श्रीमानलाई प्रहरीमा बझाएका छौं। उसलाई कडा कारबाही होस् ।’
गीताका श्रीमान रामचन्द्र प्रहरीको हिरासतमा छन् । उनलाई ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ । सोमबारसम्म उनका विरुद्ध किटानी जाहेरी परेको छैन । जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ ।
तपाइँको प्रतिक्रिया