गैँडाकोट ग्राभेल काण्डको छानबिन माग गर्दै स्थानीयले बुझाए ज्ञापनपत्र

गैँडाकोट, ९ असार । गैँडाकोट नगरपालिका वडा नम्बर १६ मा ग्राभेल वितरण प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयले छानबिनको मागसहित गैँडाकोट नगरपालिकामा बिहीबार ज्ञापनपत्र बुझाएका छन् । भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सचेत युवा समूह गैँडाकोटका तर्फबाट संयोजक सञ्जय थापाले नगर उपप्रमुख शान्ति कोइरालामार्फत् नगरप्रमुख मदनभक्त अधिकारीलाई ज्ञापनपत्र दिनुभएको हो । ज्ञापनपत्रको बोधार्थमा गैँडाकोट–१६ का वडाध्यक्ष विनोदकुमार मल्ललाई उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा ‘ग्राभेल सही ठाउँमा झारिएको भए किन उठाइयो ? गलत ठाउँमा झारिएको भए किन फिँजाइयो ?’ भनी प्रश्न गरिएको छ । अगाडि भनिएको छ, ‘सामान्य जनताले कानुन मिच्दा वा अनियमितता गर्दा सामाजिक तथा कानुनी कारबाही भोग्नुपर्ने प्रचलित व्यवस्था अनुसार भइरहेको छ । तिनै जनताका रक्षकहरु नै भक्षक बनी कानुन मिचेको कुरा मिडियामार्फत र व्यवहारले समेत पुष्टि भएको एवं स्वयंले स्वीकार गरेकोले कानुनका दृष्टिमा सबै समान भन्ने नारा बमोजिम गैँडाकोट–१६ मा ग्राभेल वितरण प्रकृयामा भएको अनियमितता छानबिन गरी उचित कारबाहीको माग गर्दछौँ ।’
नगर उपप्रमुख शान्ति कोइराललाई ज्ञापनपत्र बुझाइसकेपछि प्रतिक्रिया दिँदै युवा समूहका संयोजक थापाले जनप्रतिनिधिहरुले गलत काम गरेकोले आफूहरुले खबरदारी गरेको बताउनु भयो ।
ज्ञापनपत्र ग्रहण गर्दै नगर उपप्रमुख कोइरालाले सुशासनमा आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले ज्ञापनपत्र नगर प्रमुख अधिकारीलाई बुझाउने जानकारी गराउनु भयो ।
गएको जेठ अन्तिम साता गैँडाकोट नगरपालिका वडा नम्बर १६ अमरापुरीमा वडाको बजेटबाट बाटोमा खन्याउन भनी ल्याइएको दर्जनौँ ट्याक्टर ग्राभेलमध्ये करिब १० ट्याक्टर ग्राभेल निर्माणाधीन एक रिसोर्टमा खसालिएको थियो । रिसोर्टका संचालकद्वय वडा सदस्य रत्नबहादुर बोहरा र उहाँका भतिजा दिनेश बोहरा हुनुहुन्छ ।
निर्माणाधीन रिसोर्ट परिसरमा ग्राभेल खसालेको तर आवश्यक ठाउँमा नखसालेको भन्दै स्थानीयवासीले विरोध गरेपछि रिसोर्ट परिसरबाट आधाआधी ग्राभेल उठाइएको थियो । यस विषयमा मुकुन्दसेन टेलिभिजनले स्थलगत रिपोर्ट प्रस्तुत गरेको थियो ।
तपाइँको प्रतिक्रिया