हुप्सेकोट हुलदंगा : एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा ५ जना घाइते

गैँडाकोट, २१ वैशाख । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा मंगलबार राति एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा उम्मेदवारसहित पाँच जना घाइते भएका छन् । उनीहरुमध्ये नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्ष उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष उम्मेदवार पूर्णसिंह रानाको कावासोतीस्थित कालीगण्डकी अस्पताल र तीन जना एमाले कार्यकर्ताको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
भरतपुरमा उपचार भइरहेका घाइते एमाले कार्यकर्तामा हुप्सेकोटका २३ वर्षीय हरि केसी, ३२ वर्षीय मनोज गुरुङ र ४० वर्षीय चुडाबहादुर शेर्पुजा छन् । नेकपा (एमाले) जिल्ला कमिटी नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उपसचिव भीमलाल कँडेलले एमाले कार्यकर्तालाई काँग्रेसी कार्यकर्ताले लखेटेर मकैबारीमा कुटपिट गरेको आरोप लगाए । उनले भने, ‘हुप्सेकोट ४ झ्यालबासमा एमालेको घरदैलो चलिरहेका बेला राति काँग्रेसको टोली माथिबाट आइरहेको रहेछ । त्यो टोलीले पहिले आक्रमण गरेपछि हाम्रा साथीहरुले रक्षात्मक प्रतिकार गर्ने क्रममा ढुंगा हानाहान भएको रहेछ ।’
नेपाली काँग्रेस जिल्ला कार्यसमिति नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सभापति महेन्द्रध्वज जिसीले एमाले कार्यकर्ताले झ्यालबास बजारदेखि नै हुप्सेकोट गाउँपालिका अध्यक्ष उम्मेदवार पाण्डे र उपाध्यक्ष उम्मेदवार राना चढेको स्कारपियो पिछा गरेर हुप्सेकोट १ मा पुगेपछि आक्रमण गरेको बताए । उनले भने, ‘एमालेबाट हुप्सेकोट १ वडाध्यक्षका उम्मेदवार लालबहादुर शेर्पुजाको नेतृत्वमा आएका एमाले कार्यकर्ताले गाडीको पिछा गरेर आक्रमण गरे । एकछिनपछि हाम्रा कार्यकर्ताहरु पनि पुगे । दोहोरो झडप भयो । उनीहरुले गाडीको अगाडिको सिसा छेडेर काठको फलेकले प्रहार गरे । ड्राइभर मुश्किलले बाँचे । अध्यक्ष र उपाध्यक्षका उम्मेदवार घाइते भए । एकछिनपछि प्रहरी पनि आइपुग्यो । यो सब एमालेले नै गराएको हो ।’
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले झडपको घटना राति १० बजेतिर भएको र त्यसको जानकारी ११ बजेतिर पाएपछि आफूहरु राति नै घटनास्थलमा पुगी घाइतेलाई अस्पताल पठाएको जानकारी दिए । उनले भने, ‘घटनाबारे बुझ्ने काम भइरहेको छ । दुई पार्टीका कार्यकर्ताबीच झडप भएको रहेछ । दुबै पक्षले एकअर्कालाई दोष दिएका छन् । दुबैथरीको भनाइ विपक्षी समूहले आफूलाई लखेट्यो भन्ने छ । गाउँपालिका अध्यक्ष उम्मेदवार लक्ष्मीदेवी पाण्डेले भाडामा लिई प्रयोग गर्दै आएको ग ३ च १६०६ नम्बरको स्कार्पियो जीपको सबै सिसा फुटेका छन् ।’
हुप्सेकोट घटनाबारे नेपाली काँग्रेस र नेकपा (एमाले) दुवै पार्टीले आधिकारिकरुपमा विज्ञप्ति भने निकालिसकेका छैनन् । स्थानीय तह निर्वाचनमा मतदानको दिन निजिकिँदै गर्दा भएको हिंसात्मक झडपको घटनाले स्थानीय त्रसित बनेका छन् ।
तपाइँको प्रतिक्रिया