खोलामा खसेर ‘जिन्दगी’ले नौ जनाको ज्यान लियो

रुपन्देही, २२ जेठ । बसमा लेखिएको छ जिन्दगी । खोलामा खसेर ‘जिन्दगी’ले नौ जनाको ज्यान लियो । रुपन्देहीको भैरहवानजिक रोहिणी खोलामा बस खस्दा मृत्यु भएका नौमध्ये पाँचजनाको पहिचान खुलेको छ ।
दुर्घटनामा परी रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे, तिलोत्तमा योगिकुटीका ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपहानगरपालिका–११, कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीय दिनेश दासको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका भारतका अरविन्द्र शर्माको पनि पहिचान खुलेको छ ।
तीमध्ये तीनजनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र दुईजनाको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस आइतबार बिहान करिब ४ बजेर २० मिनेटमा भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सिमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो ।
बसमा सवार ३३ मध्ये २५ पुरुष, ६ महिला र दुई बालिका थिए । दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ ।
तपाइँको प्रतिक्रिया