‘कबड्डी ४’ लाई रोक लगाउन सिक्किमका बौद्ध धर्मगुरुको माग

सिक्किम, २३ जेठ । सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्म प्रदर्शनमा रोक लगाउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा पिन्त्सोले भने, ‘यदि रिलिज भएको खण्डमा सबै लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवार हामी हुनेछैनौं ।’ उनले फिल्मलाई नहेरिदिन समेत आग्रह गरेका छन् ।
सिक्किममा ‘कबड्डी ४’लाई जुन १७ मा रिलिज गर्ने तयारी छ । गत साता सिभिल मलको कफी सपमा मिरुना मगरले आफूलाई दुव्र्यवहार गर्दै बौद्ध भिक्षु फुर्वा तामाङलाई थप्पड हानेकी थिइन् । उनको उजुरीपछि प्रहरीले फुर्वालाई पक्राउ गरेको थियो । रिहा गर्नुपर्ने भन्दै प्रदर्शन चर्किएपछि तीन हजार रुपैयाँ धरौटीमा फुर्वालाई रिहा गरियो । फुर्वाको रिहाइपछि दुवैले सहमतिपत्रमा हस्ताक्षर गरे । तर आरोप–प्रत्यारोप अझै रोकिएको छैन ।
मिरुनाले आफूले गल्ती नगरेको बताएकी छन् भने फुर्वाले पनि गल्ती नगरेको दावी गरेका छन् । सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप पनि रोकिएको छैन ।
‘कबड्डी ४’मा दयाहाङ राईले चित्रण गरेको लामाको चरित्रले सबै लामाको आस्थामा प्रहार गरेको पनि बौद्ध धर्मगुरु पिन्त्सोले बताए । ‘जुन रुपमा लामाको क्यारेक्टर चित्रण गरिएको छ । त्यो पूर्ण रुपमा गलत छ,’ उनले भने ।
तपाइँको प्रतिक्रिया