सवारीसाधनबाट हटाइयो झाल्लर, मेटाइयो उत्तेजक अभिव्यक्ति

कावासोती, ५ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले सवारीसाधनबाट रंगीचंगी झाल्लर हटाउने र सडक साहित्यका नाममा लेखिएका उत्तेजक अभिव्यक्ति मेट्ने काम सुरु गरेको छ । कावासोती नगरपालिका–८, फलफुल चोकमा यात्रुवाहक, मालवाहक तथा निजी सवारी साधनहरुबाट झाल्लर हटाउने र उत्तेजक अभिव्यक्ति मेट्ने काम गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले मापदण्ड विपरित उत्तेजक अभिव्यक्ति लेखेका, साहित्यिक लेखनका नाममा उच्छृङ्खल तथा सामाजिक सद्भभाव विपरीतका भनाईहरु लेखेका, अस्वाभाविक रंगरोगन गरेका, सवारी दर्ता किताबमा लेखिएको भन्दा अनावश्यक रुपमा लाईटहरु जडान गरेका, सवारी चालकको अगाडिको भागमा रंगीचंगी झाल्लर राखेका र स्वरुप परिवर्तन गरी संचालन गरेका १५० वटा साना तथा ठुला सवारी साधनहरुबाट मापदण्ड विपरीत जडान गरेका, राखेका, टाँसेका विभिन्न सामग्रीहरु हटाइएको जनाएको छ ।
अब उप्रान्त उल्लेखित क्रियाकलाप नगर्न सम्बन्धित सवारीका धनी, चालक र सहचालकलाई प्रशिक्षण दिइएको ट्राफिक कार्यालयले जानकारी दिएको छ । जिल्ला ट्राफिकले यसअघि सवारीसाधनहरुबाट प्रेसर हर्न निकाल्ने काम र हेलमेट नलगाई सवारीसाधन चलाउनेलाई हेलमेट वितरणसमेत गरेको थियो ।
तपाइँको प्रतिक्रिया