लालमणी चौधरी : जसको नेतृत्वले खैरहनी निरन्तर उत्कृष्ट बन्यो

खैरहनी ।
सरकारी जागिर खाएको भए सहसचिव, सचिव भएर अहिले अवकास हुने वेला हुन्थ्यो । संगै पढेका साथीहरु सरकारी जागिरपछि अवकास पनि भईसके । तर लालमणी चौधरीलाई जागिर भन्दा पनि राजनीतिबाट समाजका लागि केही काम गर्छु भन्ने लाग्यो ।रामपुर कृषि क्याम्पसमा पढ्दै गर्दा एमालेका नेताहरु भरत भण्डारी र मुकुन्द दाहाल रामपुर पुगेर चौधरीलाई स्थानीय निकायको निर्वाचनमा उम्मेदवार वन्न प्रस्ताव गरे । सुरुमा आनाकानी गरेका चौधरीले अन्ततः निर्वाचन लड्ने निधो गरे, अनि २०४९ को निर्वाचन लडे ।निर्वाचनमा उनी पराजीत हुन पुगे । पराजीत हुँदा कतिपनि विचलित भएनन् । पदमा नरहँदा पनि उनी निरन्तर सामाजिक काममा सलग्न भईरहे । अग्रज नेताहरुको सल्लाह अनुसार निर्वाचन लडे । पहिलो पटकनै पराजीत भए । चौधरी पहिलेका दिन सम्झदै भन्छन्, ‘सरकारी जागिरमा लागेको भए माथिल्लो तहमा पुग्थे होला । तर समाजका लागि केही गर्छु भनेर राजनीतिमा होमिए ।’
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन खैरहनी गाविस अध्यक्ष पदमा उठ्न उनलाई प्रस्ताव आयो । प्रस्तावलाई सहर्ष स्वीकार गरेर उनी निर्वाचनमा होमिए । त्यो निर्वाचनमा उनी एमालेबाट फराकिलो मतान्तरले विजयी भए । तत्कालिन द्धन्द्धकालको समयमा उनले पाँच वर्षे कार्यकाल सफल रुपमा पुरा गरे । कार्यकाल सकिएपछि उनी विभिन्न सामाजिक काममा लागे । चौधरी पर्सा खानेपानीको अध्यक्ष, खैरहनी मावि व्यवस्थापन समिति अध्यक्ष भएर काम गरे ।त्यसपछि संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नम्वर १ बाट सांसदका लागि प्रस्ताव आयो । त्यो प्रस्तावलाई पनि ग्रहण गर्दै चौधरी संघीय निर्वाचनमा लडे । त्यो बेला पनि उनी सानदारका साथ विजयी भए द्धन्द्धकालिन समय भएपनि उनी चितवनका तत्कालिन पाँच निर्वाचन क्षेत्र मध्ये एमालेबाट निर्वाचित हुने एक जनप्रतिनिधी भए । तत्कालिन नारायणी अञ्चलमा एमालेबाटबाट चौधरी सहित अर्का एक जना निर्वाचित भएका थिए । सांसद भएपछि संविधान निर्माणमा उनको ध्यान केन्द्रित रह्यो । जातिय राज्य हुनु हुदैन भन्ने सवालमा उनले जोडदार आवाज उठाए, अन्ततः उनी सफल पनि भए ।गाविस अध्यक्ष, संघीय सांसद भईसकेका उनले २०७० सालमा भएको निर्वाचन आर्थिक समिति संयोजक भएर सुरेन्द्र पाण्डेलाई निर्वाचन जिताउने अभियानमा लागे । त्यो बेला पाण्डे भारी मतान्तरले पहिलो पटक सांसदमा निर्वाचित भए ।
सांसद भईसकेका चौधरीले २०७४ को स्थानीय तह निर्वाचनमा नगर प्रमुखको टिकट पाए । त्यो निर्वाचनमा आफुलाई यो जिम्मेवारी आउँछ भन्ने थाहा नै थिएन । तर पार्टीले टिकट दिएपछि उनी नगर प्रमुखका उम्मेदवार भए । निर्वाचनमा लागे । नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र चौधरीलाई उनले पराजीत गरेर उनी खैरहनीको पहिलो नगर प्रमुख बने ।नगर प्रमुखको जिम्मेवारी सम्हाल्दा न्युन स्रोत साधन र कम जनशक्ति थियो । नगरपालिका सञ्चालन गर्न चुनौती थियो । तर संविधानले दिएको अधिकार प्रयोग गर्दै नगर प्रमुख बनेका चौधरीले करदेखी कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापनलाई प्राथमिकता दिएर अघि बढे । उनको नेतृत्वले नगरपालिका सम्हाल्दा झण्डै ९६ लाख रुपैयाँ मात्र वार्षिक आम्दानी थियो । कर वृद्धी र दायरा वढाउने काम गरेर उनले आन्तरीक आम्दानीलाई ह्वात्तै बढाउने काम गरे । अहिले खैरहनी नगरपालिका आन्तरीक आम्दानीमा चितवनकै सर्वाधिक आम्दानी गर्ने नगर बनेको छ ।
फुच्चे नगरपालिका चार पटक उत्कृष्ट
साविकको खैरहनी, चैनपुर, कुमरोज र कठार गाविसलाई एकठाउँ ल्याएर बनाइएको यो नगरपालिका क्षेत्रफलका हिसाबले जिल्लाकै ’फुच्चे’ स्थानीय तह हो । ८५.५७ वर्गकिलोमिटर मात्रै क्षेत्रफल ओगटेर नगरपालिका बन्दा यहाँ न प्रशासन चलाउने संरचना थियो, न गाभिएका गाविसहरूसँग पर्याप्त स्रोत नै थिए ।अधिकांश मानिस कृषिमा आधारित भए पनि व्यावसायिक कृषि नगन्य थियो । थारू समुदायको बसोबास बढी रहेको यस क्षेत्रमा शिक्षा, स्वास्थ्यको अवस्था कमजोर थियो । उद्योग, पर्यटन लगायत क्षेत्रले प्रचुर सम्भावना भएर पनि गति लिन सकिरहेका थिएनन् । २०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि भने खैरहनी नगरपालिकाले विकासको गति लियो ।निर्वाचित भएर आएका जनप्रतिनिधिको परिपक्व कामले खैरहनी जिल्लामा मात्रै नभएर देशमै उत्कृष्ट नगरपालिका बन्न सफल भएको स्थानीय बताउँछन् । नगर प्रमुख चौधरीको नेतृत्वमा रहेको खैरहनी नगरपालिकाले वितेको पाँच वर्षमा स्थानीय तह सस्थागत क्षमता विकास स्वमुल्यांकनमा देशभरकै उत्कृष्ट बन्दा चितवन प्रथम भयो । सूचना प्रविधि लेखाजोखा मुल्यांकनमा पनि खैरहनी उत्कृष्ट बन्यो ।
खैरहनी नगरपालिकाले युवाहरूलाई गरेको प्रोत्साहन र यहाँका युवाले पाएको सफलताका आधारमा युवा प्रतिभा पुरस्कार पनि जित्यो । स्थापना हुँदा ९८ लाख रूपैयाँको मात्र स्रोत रहेको खैरहनीसँग अहिले १७ करोडभन्दा बढीको स्रोत तयार भइसकेको छ । यसले आन्तरिक स्रोत परिचालन गरेर स्थानीय विकास निर्माण तथा अन्य गतिविधि सञ्चालन गर्न नगरपालिकालाई सघाउ पुगेको छ ।नगरपालिकाका निवर्तमान प्रमुख लालमणि चौधरीले प्रशासन चुस्त बनाउँदै कृषि, उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउँछन् । खैरहनी नगरपालिकाले हरेक निर्णय सर्वसम्मत गर्न सफल हुनुलाई पाँच वर्षे कार्यकालको सबभन्दा ठूलो उपलब्धि मानेको छ । नयाँ नगरपालिकामा पहिलोपटक जनप्रतिनिधि भएर आएकाहरूका लागि भौतिक र प्रशासनिक संरचना तयार पार्नु, आर्थिक गतिविधि चुस्त पार्दै स्रोत बढाउनु र सेवा प्रवाह प्रभावकारी बनाउनु ठूलो चुनौती थियो । पाँचवर्षे कार्यकालमा यो चुनौती पनि पार गरेको चौधरी बताउँछन् ।
नगरपालिकाभित्र सहकारी संस्थासँग समन्वय गरेर धान, मकै, गहुँ प्रशोधन केन्द्र, पशु दाना मिल, मह प्रशोधन केन्द्र, दुधजन्य पदार्थ उत्पादन गर्ने प्लान्ट, शितभण्डार, तरकारी बजार, हाटबजार व्यवस्थापन गरेर कृषिको बजारीकरणका लागि काम गरेको निवर्तमान प्रमुख चौधरीले बताए ।यसबाहेक कृषिमा आधुनिकीकरणका लागि किसानहरूलाई मेसिन, बीउमा अनुदान दिइएको उनले बताए । पशुपालनमा अनुदानको व्यवस्था र किसानलाई निःशुल्क कृषि बिमाको व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।
पूर्वाधारमा ठूलो सफलता
खैरहनी नगरपालिकाले पाँच वर्षमा ६ वटा ठूला पुल आन्तरिक बजेटबाटै निर्माण गरेको छ । आन्तरिक स्रोतबाटै साना कल्भर्टहरू दर्जनौं बनेका छन् । ४० किलोमिटरभन्दा बढी नाला र ६० किलोमिटरभन्दा बढी सडक कालोपत्र गरेको छ । विद्यालय भवन, १३ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र बनाएको र १५ शैय्याको नगरस्तरीय अस्पताल निर्माणाधिन अवस्थामा छ ।नगरपालिकाले २८ परिवार मुसहरका लागि घर बनाइदिएको छ । २८ घर रहेको सुकुम्बासी बस्ती स्थानान्तरण गरेर उनीहरूका लागि घर बनाइदिएको हो । उनीहरूको जीविकोपार्जनका लागि बाख्रापालन, कृषि, घरेलु उद्योगजस्ता आयआर्जनका गतिविधिमा पनि नगरपालिकाले सघाएको छ ।
पाँचवटा खोला यो नगरपालिकालाई चिरेर बगेका छन् । ती खोला नियन्त्रण गर्नु खैरहनीका सामु ठूलो चुनौती छ । मेयर चौधरीले खोला व्यवस्थापनका लागि भारतीय दूतावाससँग समन्वय गरेर काम अगाडी बढाएकोछ ।
चौधरीले आफ्नो पाँचवर्षे कार्यकालमा विद्यालयको भौतिक संरचना निर्माणका लागि काम गरेको भन्दै अब शैक्षिक गुणस्तर विकासमा केन्द्रित हुनुपर्ने बताए । भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर वृद्धिका केही संकेत देखिन थालेको उनले बताए । उनकाअनुसार नगरपालिकामा हाल एमबिबिएस डाक्टर मात्रै रहेकामा अब कम्तीमा एक जना विशेषज्ञ डाक्टरसहति चार जना डाक्टर एक्सरे, भिडिओ एक्सरेसहितको सेवा सुरु भएको छ ।नगरपालिकाका कार्यवहाक नगर प्रमुख समेत रहेकी सुनिता खरेल थपलियाले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, निर्वाचित अन्य जनप्रतिनिधि र कर्मचारीको ‘टिम’ मिल्दा काम गर्ने वातावरण बनेको बताउँछिन् । टोल विकास समितिदेखि माथिका सबैले मिलेर काम गर्दा नगरपालिका नयाँ भए पनि पुरानाले भन्दा राम्रो काम गर्न सकेको उनको दावी छ ।
पुनः नगर प्रमुखको दौडमा चौधरी
खैरहनीका संस्थापक नगर प्रमुख समेत रहेका लालमणि चौधरी दोश्रो कार्यकालका लागि नगर प्रमुखको दौडमा छन् । गठवन्धन उनका लागि चुनौती भएपनि पाँच वर्षमा विवादरहित तरिकाले काम गर्दा उनलाई भरोसा गर्ने धेरै छन् । त्यसैले पनि उनलाई यो निर्वाचन सहज हुन सक्छ । पुनः नगर प्रमुखको उम्मेदवारी दिएका चौधरीले निर्वाचित भएमा केही लोककल्याणकारी कार्यक्रमलाई अघि सार्ने योजना वनाएका छन् ।
पूर्वाधारको काम धेरै भईसकेको भन्दै उनले जनता लक्षित कार्यक्रम आवश्यक रहेको उनको बुझाई छ । उनले आगामी कार्यकालमा ५ सय गरिब विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना वनाएका छन् । ‘स्वास्थ्य उपचारकै लागि धेरै मान्छे आर्थिक अभावमा भौतारिरहेको पाईन्छ’, चौधरी भन्छन्, ‘नगरपालिकाले त्यस्ता गरिव, विपन्न परिवारको बीमा गरिदिएमा धेरै समस्या समाधान हुन्छ ।’
त्यस्तै मृगौला रोगीका लागि मासिक पाँच हजारको व्यवस्था गर्ने, १० हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको महसुस नगरपालिकाले तिर्ने व्यवस्था मिलाउने उनको योजना छ ।
तपाइँको प्रतिक्रिया