भरतपुरको मतगणनास्थलमा राखियो सिसिटिभी र फलामे डण्डीसहित तारजाली

चितवन, २९ वैशाख । अघिल्लो स्थानीय निर्वाचनमा मतगणनाका बेला मतपत्र च्यातिएपछि देशव्यापी चर्चामा आएको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा यसपटक सिसिटिभी र फलामे डण्डीसहित तारजाली राखिएको छ । मतगणना भरतपुर–१० मा रहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलमा गरिने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलका अनुसार केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने तयारी गरिएको हो । सो ब्लकमा सिसिटिभी जडान र तारजाली लगाउने काम सकिएको छ । सात समूहमा मतगणना गर्न सकिने गरी तयारी थालिएको पौडेलले जानकारी दिए ।
मतगणना स्थलमा आठवटा सिसी क्यामरा जडान गरिसकिएको उनले बताए । उनका अनुसार गणनास्थलमा चौविसै घण्टा विद्युत र इन्टरनेटको सुविधा उपलब्ध हुनेछ ।
मतगणना हुने ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याएर राखिनेछ । मतपत्र राखिएको प्यासेजको पछाडिपट्टि शौचालय छ । मतगणना गर्ने कर्मचारीले मात्रै उक्त शौचालय प्रयोग गर्ने पौडेलले जानकारी दिए । २०७४ को मत गणनाको क्रममा मतपत्र च्यातिएपछि अहिलेको गणनामा त्यस्तो नहोस् भनेर सबै खालको तयारी गरिएको पौडेलले बताए ।
मतगणना हुने ब्लकको पश्चिमतिरको एउटा कोठामा पत्रकार बस्ने व्यवस्था गरिएको छ । पत्रकारले मुख्य गेटबाट फोटो र भिडियो लिनसक्ने सूचना अधिकारी पौडेलले बताए ।
मतगणना स्थलको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको र पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।
भरतपुर महानगरमा २९ वडा छन् । जहाँ १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन् । महानगरका लागि ६५ मतदान स्थाल २०२ मतदान केन्द्र रहेको छ । भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने अनुमान छ ।
तपाइँको प्रतिक्रिया