चितवनका पत्रकार पराजुलीको कथासंग्रहमाथि कोहलपुरमा चर्चा

बाँके, २९ जेठ । पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रहमाथि परिचर्चा गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले शनिबार कोहलपुरमा पुस्तकमाथि छलफल तथा परिचर्चा गरेको हो ।
प्रतिष्ठानकी उपाध्यक्ष एवम् आख्यान विभाग प्रमुख सुमित्रा न्यौपानेले सङ्ग्रहका सबै कथालाई सरसर्ती व्याख्या गरिन् । बक्ररेखा शीर्षकको कथा श्रुति र सभ्य भएको बताउँदै कथामा विदेश जाने केटो भनेपछि हुरुक्क हुने हाम्रो समाजको चरित्र चित्रण गरिएको बताइन् ।
“बानी, व्यहोरा र पढाइको समेत वास्ता नगरी हचुवामा उसलाई क्षमतावान् व्यक्तिको रूपमा विश्वास गर्ने हाम्रो स्वभाव छ”, न्यौपानेले भनिन्, “वैवाहिक जीवनको कौतुहलता र अनुमानको बारेमा केटीले गरेको मनोविश्लेषणलाई कथामा उनिएको छ ।” यौनको उन्मादमा आफन्त पनि नभन्ने सामाजिक अपराधी पुरुष पात्रलाई पीडकको रूपमा देखाएर मात्रै नारीमाथिको अत्याचार र भेदभाव नमेटिने न्यौपानेको धारणा थियो ।
“नारीपात्रलाई कोमल हृदयको रूपमा चित्रण गरिएको छ”, न्यौपानेले अगाडि भनिन्, “प्रकृतिले मानिसलाई सर्वगुणसम्पन्न बनाएर पठाएको हुँदैन । नारीहरू मात्रै आफ्नो हकहितका लागि सदैव लडेर मात्रै हुँदैन, दाजुभाइले उनीहरूलाई साथ र सहयोग दिनुपर्छ ।” पैसा कमाउन विदेश गएका महिलालाई पैसा कमाउने नाममा विभिन्न गल्ती गरेको लान्छना लगाएका प्रसङ्गलाई कथामा जोड्नु शोभनीय नभएको पनि न्यौपानेले बताइन् ।
परिचर्चा कार्यक्रममा बाँकेका विभिन्न स्रष्टाले मोम्चो पुस्तकका बारेमा टिप्पणी राखेका थिए । पुस्तकमाथि बोल्दै अर्का टिप्पणीकार विष्णु पादुकाले मोम्चो कथासङ्ग्रहका अधिकांश कथा नारीका विषयमा केन्द्रित रहेको बताए । पादुकाले सङ्ग्रहमा रहेका ११ वटै कथाको बारेमा संक्षेपमा टिप्पणी राखे ।
“पराजुलीका कथामा सीमान्तकृत समुदायका नारीका जीवन र भोगाइलाई समेटिएको छ”, पादुकाले भने, “कथामार्फत् नारीका समस्यालाई मात्रै उठाइएको छैन । तीनका समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यसमा समाज र राज्यको दायित्व के हुन्छ ? भन्ने कुरालाई पनि उठान गरिएको छ ।”
टिप्पणीकार सागर गैरेले चितवनको सीमान्तकृत चेपाङ समुदायको भाषा, जीवनशैली, परम्परा र रहनसहनलाई मोम्चो कथामा समेटिएको उल्लेख गरे । “शीर्ष कथा र समग्र कथामा नारीका सुख र दुःखलाई उजागर गरिएकोले मोम्चो नारीप्रधान कृति हो”, टिप्पणीकार गैरेले भने, “कथामा घटनाले प्राथमिकता पाएको छ र कथाकारले त्यसलाई आफ्नो लेखनशिल्पमार्फत व्याख्या गरेका छन् ।”
लेखक वसन्त पराजुलीले मोम्चो सीमान्तीकृत चेपाङ समुदायको धर्म, रीतिरिवाज र परम्परामा आधारित भएर लेखिएको कथा भएकोले यी समुदायसँगै आमपाठकले मन पराएको बताए । कोहलपुरमा आएर मोम्चोको कार्यक्रम गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै कार्यक्रमले चितवन र बाँकेको साहित्यिक सम्बन्ध बलियो भएको बताए ।
परिचर्चा कार्यक्रममा विशिष्ट अतिथिका रूपमा आमन्त्रित लेखक नरेन्द्रजंग पिटरले स्वाभिमानी चेपाङको कथा व्यथालाई किताबको रूपमा प्रकाशन गरेर लेखक पराजुलीले ठूलो गुन लगाएको बताए । पिटरले आफू चितवन रहँदा चेपाङ समुदायको अवस्थालाई नजिकबाट नियाल्ने मौका पाएको पनि बताए ।
कार्यक्रममा पत्रकारहरू मणि अर्याल र सूर्यप्रकाश कँडेलले पनि बोलेका थिए । कार्यक्रमको सुरुवातमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका सचिव बद्री ढकाल हिरामणिले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमलाई पुष्कर रिजालले सहजीकरण गरेका थिए ।
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । पराजुलीको यसअघि ‘कुमाता’ कथासंग्रह प्रकाशित छ । पत्रकार पराजुली गोरखापत्र दैनिकका चितवन जिल्ला संवाददाता हुन् ।
तपाइँको प्रतिक्रिया