मंकिपक्स ७५ देशमा देखा परेपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

एजेन्सी । छलामा राता डाबर देखिने एक प्रकारको रोग मंकीपक्स ७५ देशमा देखा परेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकिपक्स विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । द न्युयोर्क टाइम्सका अनुसार डब्लुएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेएससले शनिबार मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेका हुन् ।
मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्नेबारे डब्लुएचओको विज्ञ समूह सहमतिमा पुग्न सकेको थिएन । विज्ञ समूह विभाजित भएपछि गेब्रेएससले स्वास्थ्य आपतकाल घोषणा गरेका हुन् । डब्लुएचओको यो घोषणासँगै अब मंकिपक्सको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले आपसमा संयोजन गरी काम गर्नुपर्नेछ ।
‘हामीले कमै थाहा पाएका नयाँ माध्यमबाट तीव्र गतिमा संसारभरि फैलिरहेको यो संक्रमण स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने सबै अवस्थामा पुगेको छ,’ गेब्रेएससले भनेका छन् । केही विज्ञहरूले भने डब्लुएचओले हतारहतारमा मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको भनेर आलोचना गरेका छन् । मंकिपक्सको संक्रमण अहिलेसम्म संसारभरिका ७५ मुलुकमा पुगेको छ । १६ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
केही साताअघि नेपालमा पनि एक जनामा मंकिपक्सको संक्रमण भएको आशंका गरिएको थियो । परीक्षण गर्दा उनमा कुष्ठरोग भएको पुष्टी भएको थियो ।
सन् १९५८ मा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा पहिलो पटक देखिएकाले यो भाइरसको नाम मंकिपक्स राखिएको हो । सन् १९७० मा डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक एक जना बालकमा यो भाइरस देखिएको थियो ।
त्यसपछि यो रोग मध्य तथा पश्चिम अफ्रिकाका बेनिन, क्यामरून, सेन्ट्रल अफ्रिकन रिपब्लिक, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, गाबोन, घाना, आइभोरी कोस्ट, लाइबेरिया, नाइजेरिया, रिपब्लिक अफ द कंगो, सिरालियोन र दक्षिण सुडानमा बेलाबेलामा देखिने गरेको थियो ।
यसअघि पनि ती मुलुकमा गएका बाहिरका मानिसलाई पनि बेलाबेला यो भाइरसको संक्रमण हुन्थ्यो । अहिलेजति एकै पटक यति धेरै मुलुकमा यो भाइरस यसअघि कहिल्यै फेला परेको थिएन । बेलायत र अमेरिकाका संक्रमितहरू मध्य तथा पश्चिम अफ्रिकाका ती मुलुकमा नगए पनि उनीहरूमा संक्रमण देखिएको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार मंकिपक्सको संक्रमण भएपछि ज्वरो आउने, टाउको, मांसपेशी र मेरूदण्ड दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखिन्छन् । शरीरका विभिन्न भागमा बिबिरा आउने र ती फोका बन्ने यसको अर्को मुख्य लक्षण हो। यी लक्षण गम्भीर खालका भने हुँदैनन् । संक्रमितलाई निको हुन ६ देखि १३ दिनसम्म लाग्छ। कसैलाई निको हुने २१ दिनसम्म लाग्न सक्छ ।
मंकिपक्सको छुट्टै उपचार छैन । चिकित्सकहरूले स्मलपक्सको खोप लगाएका मानिसमा मंकिपक्सको संक्रमणसँग लड्ने एन्टीबडी बनिसकेको हुने बताएका छन् । संक्रमितहरूलाई डाक्टरले अवस्था हेरेर उपचार सिफारिस गर्छन् । बच्चा र गर्भवती महिलालाई संक्रमण भए अरूभन्दा बढी गाह्रो हुन सक्छ ।
मंकिपक्सको मृत्युदर न्यून छ । नाइजेरियामा अहिलेसम्मको तथ्यांकमा संक्रमितमध्ये ३।३ प्रतिशतले ज्यान गुमाएका छन् ।
मंकिपक्स संक्रमित व्यक्तिको फोका फुटेको छालासँग सम्पर्कमा आउँदा सर्न सक्छ । र्याल, थुकका छिटाजस्ता तरल पदार्थबाट पनि यो सर्न देखिएको छ । अहिलेका केही संक्रमितमा यौनसम्पर्कका माध्यमबाट पनि यो भाइरस सरेको देखिएको छ ।
तपाइँको प्रतिक्रिया