जापानमा मृत भेटिएकी लक्ष्मीको परिवारलाई काठमाडौँमा सहयोग रकम हस्तान्तरण

काठमाडौँ, १३ जेठ । जापानमा आफ्नै कोठामा मृत्यु भएको अवस्थामा भेटिएकी लक्ष्मी केसीको परिवारलाई नवलपुर समाज जापान र एनआरएनए जापान क्षेत्रीय समिति कान्तोले आर्थिक सहयोग गरेको छ । मृतक लक्ष्मीको परिवारलाई काठमाडौँ बोलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
अरुणखोला नवलपुर घर भई विद्यार्थी भिषामा जापान गएकी लक्ष्मी केसीको अप्रिल १० तारिखका दिन टोकियोमा नै अन्त्येष्टी गरिएको थियो । २५ वर्षीया लक्ष्मी ५ बर्षदेखि जापान बस्दै आएकी थिइन् । छिट्टै उनका श्रीमान विशाल लामा एवम् सात बर्षीया छोरी नायोमी लामालाई जापान बोलाई सपरिवार बस्ने लक्ष्मीको योजना भएको परिवार स्रोतले जनाएको छ ।
मृत्युपश्चात मृतक लक्ष्मीको अन्त्येष्टीको लागि एनआरएनए जापान क्षेत्रीय समिति कान्तो र नवलपुर समाज जापानको संयुक्त पहलमा ११ लाख ६ हजार १ सय ७५ जापानी येन संकलन भएको थियो । लक्ष्मीको अन्त्येष्टीको लागि २ लाख ८० हजार जापानी येन र उनको घरसम्म सामान पठाउँदा ८ हजार १ सय जापानी येन खर्च भएको थियो ।
खर्च कटाएर बचेको रकम ८ लाख १८ हजार ७५ जापानी येन (७ लाख ९३ हजार ४ सय २० नेपाली रुपैयाँ) मृतक लक्ष्मी केसीको ७ वर्षीया छोरी नायोमी लामालाई एक कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो । त्यसमा नवलपुर समाज जापानका अध्यक्ष कृष्ण खरेल र उपाध्यक्ष बिष्णु शर्माले आफ्नो व्यक्तिगत तर्फबाट रु २५–२५ हजार गरी थप ५० हजार रुपैयाँ नायोमी लामालाई सहयोग गरेका छन् ।
हस्तान्तरण कार्यक्रममा नवलपुर समाज जापानका अध्यक्ष कृष्ण खरेल, उपाध्यक्ष बिष्णु शर्मा, संस्थापक अध्यक्ष केशव पौडेल, दोहोरी गायक दिपक खड्का र नायोमी लामाको बुवा विशाल लामाको उपस्थिति रहेको थियो ।
मृतक लक्ष्मीकी छोरी नायोमी लामाको नाममा एनआइसी एसिया बैंकमा मुद्दती खाता खोली सहयोग रकम राखिएको छ । मुद्दती खातामा जम्मा गरिएको कुल रकम आठ लाख ४३ हजार ४ सय २० रुपैयाँ र त्यसबाट आर्जित ब्याज रकम नायोमी १८ वर्ष पूरा भएपछि मात्र झिक्न मिल्ने गरी बचत गरिएको नवलपुर समाज जापानका उपाध्यक्ष विष्णु शर्माले जानकारी दिए ।
नेपाल जन्मभूमि भई जापान कर्मभूमि बनाएर बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कमाईबाट केही रकम बचाएर सहयोग गरेकोमा सहयोगी व्यक्तिहरु, संघसस्थाहरुलाई एनआरएनए जापान क्षेत्रीय समिति कान्तो र नवलपुर समाज जापानले आभार प्रकट गरेका छन् ।
तपाइँको प्रतिक्रिया