पहिलो खेलमै नेपाल जिम्बावेसँग ६ विकेटले पराजित

काठमाडौँ, १८ वैशाख । जिम्बावे ‘ए’ विरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल जिम्बावे ‘ए’सँग ६ विकेटले पराजित भएको हो ।
जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६, मोहम्मद आदिल आलमले ४७ र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए । बलिङतर्फ जिम्बावेका ब्राड इभान्स, लुक जोङ्वे, ब्राण्डोन मावुता र जोन मासराले एक–एक विकेट लिए ।
१८२ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको जिम्बावेले १८ ओभर ५ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उसका लागि तादिवानशे मरुमानीले ५६, टोनी मुन्योङ्गाले ५० र इन्नोसेन्ट काइयाले ४७ रन बनाए । नेपालका लागि बसिर अहमदले दुई तथा कप्तान सन्दीप लामिछाने र करन केसीले समान एक विकेट लिए ।
नेपाल र जिम्बावेबीच तीन खेलको टी–२० सिरिज र तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।
तपाइँको प्रतिक्रिया