लुम्बिनी प्रदेशसहित तराईका जिल्लामा आगामी तीन दिन ‘लू’ लाग्ने

काठमाण्डौ, ४ बैशाख ।
नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन ‘लू’ लाग्ने भएको छ । ४० डिग्रि भन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ ।
वैशाख ५, ६ र ७ गते तातो हावा चल्ने भएकोले उच्च शतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनी अनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुने बताउनु भयो ।
उहाँका अनुसार ४० डिग्री वा सो भन्दा माथि तापक्रम, दुई वा त्यो भन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्याधिक गर्मी’ को अवस्था भनिन्छ । १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको थियो ।
तपाइँको प्रतिक्रिया