Search
Close this search box.

बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’, दैनिक चार घण्टा यातायात बन्द

बेनी, ६ वैशाख ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ ।म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा विस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्न २०७९ वैशाख ७ देखि २० गतेसम्म दैनिक चार घण्टा सवारी साधन आवतजावत बन्द गर्न लागिएको हो।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घाँसा–काभ्रेभिर खण्डमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरेर सडक विस्तारको काम गर्ने निर्णय भएको जानकारी दिए। यसअघि गत माघ १० गतेदेखि बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ चैतै दसैंमा मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटकको चाप बढेपछि चैत १५ गतेदेखि हटाइएको थियो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक निर्माणको कामलाई तीव्रता दिन र सुरक्षालाई ध्यानमा राखेर सवारी साधन र काम गर्ने समयतालिका बनाइएको बताए।विसं २०७४ मा सुरू भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ।

हालसम्म मुस्ताङको ६ वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ। ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये ६ वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन्। ७६ किलोमिटर दूरीको बेनी–जोमसोमको चारवटामध्ये एक वटा प्याकेजको कालोपत्र सकिन लागेको र अर्को प्याकेज कालोपत्रको तयारीमा छ।

आठ वटा मोटर चल्ने पुल निर्माण सकिएका छन्। थप एउटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन्। थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजनाले जनाएको छ ।आयोजनाअन्तर्गत बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि वैशाख ३ गतेदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ। २०७९ साल वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिनेछ। बिहान ११ देखि दिउँसो ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान