कांग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक

काठमाण्डौ, ११ चैत्र ।
नेपाली कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ।महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले घोषणा पत्र बनाएको थियो।आज पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र शीर्ष नेताले घोषणा पत्र सार्वजनिक गरेका हुन्।नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । ८८ पृष्ठ लामो सङ्कल्पमा ‘सबल स्थानीय सरकार ः समुन्नत गाउँ, समुन्नत नगर, गाउँदेखि केन्द्रसम्म नेपाली काँग्रेसको सरकार’ भन्ने नारा दिइएको छ ।
पार्टीले आफ्नो सङ्कल्पमा चुनाव जितेपछि केही गर्ने र नगर्ने कामहरूको सूची पनि बनाएको छ । जसमा पार्टीले आफूले गर्ने कामहरूमा एक वर्ष भित्र स्थानीय सरकारलाई थप स्रोत साधन सम्पन्न बनाउन कर्मचारी व्यवस्थापन गरी आवश्यक जनशक्ति पदपूर्ति गर्ने व्यवस्था गर्ने तथा क्षमता अभिवृद्धिका लागि आवश्यक संरचना बनाउने तथा सुशासन, पारदर्शिता, जबाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुसरण गरी भ्रष्टाचारमुक्त र मितव्ययी शासन प्रणाली अवलम्बन र संस्थागत गर्ने लगायत विषयहरू उल्लेख गरेको छ ।
यता पार्टीले नगर्ने कामहरूमा जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने र नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने लगायत विषयहरू समावेश गरेको छ । यस्तै नेपाली काँग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी रहेको जनाएको छ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको सङ्कल्प प्रकाशित गर्दै काँग्रेसले एमाले र नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतबाट जन्मिएका पार्टी भएको जनाएको हो ।
तपाइँको प्रतिक्रिया