नारायणगढमा आगलागी, मेयरका उम्मेदवार सुवेदीद्वारा पीडितलाई सान्त्वना

चितवन, १५ वैशाख । नारायणगढको कमलनगरमा आज बिहान आगलागी भएको छ । आज बिहान १ः३० बजे भएको आगलागीका कारण कमलनगर चोकका ६ वटा पसलमा पुर्णरुपमा क्षति पुगेको छ ।
भरतपुरका मेयरका उम्मेदवार विजय सुवेदी घटनास्थल पुगेर घटनाका पीडितहरुलाई सान्त्वना दिँदै घटनाका पीडितहरुलाई महानगरपालिकाले सहयोग गर्नुपर्ने बताएका छन् । सुवेदीले पीडित र स्थानीयवासीलाई भेटेर उनीहरुको गुनासो समेत बुझेका थिए । महानगरपालिकामा विद्युत्का तारहरु अव्यवस्थित भएकाले तिनीहरुलाई व्यवस्थित पार्नुपर्ने महानगरपालिकाको दायित्व भएको सुवेदीले बताए ।
विपद्का घटनाहरु मानिसले नचाहेर पनि हुने उल्लेख गर्दै मेयरका उम्मेदवार सुवेदीले त्यस्तो घटना रोकथाम र नियन्त्रणका लागि महानगरपालिका सचेत र चनाखो हुनुपर्नेमा जोड दिए । महानगरपालिकाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्नुपर्ने सुवेदीको भनाइ थियो ।
भरतपुर महानगरपालिका कार्यालयबाट करिब एक किलोमिटरको दूरीमा रहेको घटनास्थलमा बिहान २ः३० बजेपछि मात्रै दमकल पुगेको थियो । ढिलागरी दमकल पुग्नु र पुरानो दमकलले राम्रोसँग पानी हाल्न नसकेपछि आगलागी नियन्त्रणमा ढिलाइ भएको स्थानीयले सुवेदी समक्षसँग गुनासो गरेका थिए । महानगरपालिकाको दमकलले पानी निभाउन पानी फाल्दा आधा पानी भुईँमा पोखिएको भन्दै स्थानीयको गुनासो थियो ।
भरतपुर महानगरपालिका, नेपाली सेना, खैरहनी नगरपालिका र कावासोती नगरपालिकाको दमकलले बिहान ७ बजे आगलागी नियन्त्रणमा लिएको छ ।
तपाइँको प्रतिक्रिया