इच्छाकामना एमालेको प्रतिबद्धता :चेपाङलाई विद्युतमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई ५ हजार उपचार खर्च

चितवन, २६ वैशाख ।
इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढि जनसंख्या भएको चेपाङ समुदायलाई नेकपा (एमाले) इच्छाकामनाले विद्युत महसुलमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । यो सुविधा दलित समुदायलाई पनि हुने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
गाउँपालिका जितेपछि एमालेले आफ्ना कार्यक्रमलाई शिक्षा र स्वास्थ्यमा जोड दिने उल्लेख गरेको छ । सम्वृद्ध इच्छाकामना निर्माणका लागि नेकपा(एमाले)ले अघि सारेका शिक्षा र स्वास्थ्यका योजना अनुसार वडागत तहमा आधा घण्टाको दूरीमा बाल सिकाई केन्द्र सञ्चालनको व्यवस्था मिलाइने, विद्यालयहरूमा आवश्यकताका आधारमा कम्तीमा एक सेट कम्प्युटर÷ल्यापटप, प्रिन्टरसहित इन्टरनेट सेवा उपलब्ध हुने व्यवस्था मिलाइने, विद्यालयहरूमा माग र आवश्यकताका आधारमा प्राविधिक धारको शिक्षण सञ्चालन गर्ने व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।
पहाडी क्षेत्रमा विद्यालय छाड्ने दरमा सुधारका लागि विभिन्न कार्यक्रम सहित योजना ल्याइने, विद्यार्थीको अनुपातमा आवश्यक बिषयगत शिक्षक दरबन्दी आपूर्तिको व्यवस्था मिलाइने, हरेक विद्यालयमा बालिकामैत्री शौचालयको व्यवस्था, सेनिटरी प्याडको नियमित र भरपर्दो वितरण को व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।त्यस्तै, हरेक विद्यालयमा एक नर्स (स्वास्थ्य परिचालिका)को व्यवस्था गर्ने, शैक्षिक सिकाई उपलब्धीका आधारमा शिक्षक प्रोत्साहनको योजना ल्याइने, शिक्षामा नागरिक पहुँच पु¥याइने, पोषणसहितको प्रारम्भिक बालविकास तथा शिक्षाको पहुँच हुने व्यवस्था मिलाइने एमालेका अध्यक्ष पदका उम्मेदवार दानबहादुर गुरुङले बताए ।पालिकाभित्र रहेका विभिन्न जातजातीहरूको आफ्जो मातृभाषाको संरक्षण गर्न पालिका भित्रका विद्यालयस्तरमा स्थानीय पाठ्यक्रम बनाएर कक्षा सञ्चालन गर्न गर्नै व्यवस्था मिलाइने उनले बताए ।
स्वास्थ्य सेवातर्फ गरिबको रेखामुनि रहेका नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाइनेछ साथै पालिका भित्रका सबै नागरिकहरूका लागि अनिवार्य स्वास्थ्य बिमाको योजना लागु गरिने अध्यक्ष पदका उम्मेदवार दानबहादुर गुरुङले बताए ।
गाउँपालिका भित्रका नागरिकहरूको आरोग्य पूर्ण दीर्घ जीवनका लागि स्वास्थ्य योजनामा आधारित कार्यक्रमहरु कार्यान्वयनको चरणमा लगिने र आधारभूत स्वास्थ्य सेवा जस्तो नागरिकको मौलिक हक सुनिश्चितता गर्न पालिका भित्र विशेषज्ञ चिकित्सक सहितको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्ने गुरुङको प्रतिबद्धता छ ।
त्यस्तै, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गरिने, स्वास्थ्य चौकीको पहुँच नपुगेका वडाहरूमा स्वास्थ्य चौकी स्थापना गरिने, वडागत रूपमा आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ । आकस्मिक दुर्घटना कोष खडा गरी दुर्घटनामा परेकाहरूका लागि उक्त कोषबाट सहयोग पु¥याइने व्यवस्था मिलाइने र गर्भवती महिलाका लागि आवश्यक पोषण भत्ताको व्यवस्था मिलाइन उपाध्यक्ष पदकी उम्मेदवार माया सिलवालले बताइन् ।
पयर्टकीय गन्तब्यलाई स्थानीयको आजआर्जनसँग जोड्ने
इच्छाकामनामा रहेको जिल्लाकै महत्वपूर्ण पयर्टकीय गन्तब्यहरुको प्रचारप्रसार र सुविधाहरु बढाउने गरी पूर्वाधारहरु थपिने एमालेले जनाएको छ । मनकामना माइको दर्शन गर्न आउन पर्यटकहरुलाई चितवनकै अग्गो डाँडा उपरदाङ्गगढि, सिराईचूली, इच्छाकामना मन्दिरसम्म लैजाने व्यवस्था मिलाइने छ । ति ठाँउहरुमा होमस्टेहरुको प्रवद्र्धन गर्ने, स्थानीय समुदायलाई आवश्यक तालिमसहित दक्षता बढाउने र आयआर्जनसँग जोड्ने काममा गाउँपालिका लाग्ने एमालेले जारी गरेको प्रतिवद्दता पत्रमा उल्लेख गरिएको छ ।
मौवाखोलीदेखि मुग्लिनसम्म त्रिशूली नदीमा जलयात्राको व्यवस्था गर्ने, नदी क्षेत्रका तटिय क्षेत्रमा होटल तथा अन्य पर्यटकीय गतिविधीलाई बढाउन गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने एमालेको प्रतिवद्दता पत्रमा समेटेको छ । खोला तटिय क्षेत्रमा व्यावसायिक रुपमा खेती गर्न चाहने कृषि फर्महरुलाई सिचाईको सुविधाका लागि पानी लिफ्ट गर्ने सुविधा गाउँपालिकाले दिनेछ ।
जेष्ठ नागरिकहरुलाई ५ हजार उपचार खर्च
जेष्ठ नागरिकहरुलाई सरकारले दिने चार हजार रुपैया भत्तासँगै बार्षिक रुपमा उपचारका लागि भनेर गाउँपालिकाले ५ हजार रुपैयाँ दिने प्रतिवद्दता घोषणपत्रमा जनाइएको छ । एमालेले गरिवीको रेखामूनी रहेका घरपरिवारको निःशूल्क बिमा गरिदिने कार्यक्रमसमेत सार्वजनिक गरेको छ । वडागत रुपमा निःशुल्क स्वास्थ्य शिविर चलाउने पनि एमालेले जनाएको छ ।
तपाइँको प्रतिक्रिया