नेपाली कांग्रेस गैँडाकोटको यस्तो छ नगरविकासको योजना

गैँडाकोट, १७ वैशाख । नेपाली कांग्रेस गैँडाकोटले समृद्ध नगरको परिकल्पना गर्दै समुन्नत, सवल र सक्षम गैँडाकोटको नारालाई केन्द्रमा राखेर घोषणापत्र सार्वजनिक गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै कांग्रेसले आगामी पाँच वर्षभित्रमा गर्न सकिने कामको शनिबार नगर पार्टी कार्यालयमा घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा कांग्रेसले वी.पी. कोइरालाले प्रतिपादन गरेको समाजवादलाई आत्मसात् गर्दै गरीबि मुक्त अभियान सञ्चालन गर्न सहकारी, सामुदायिक वन, खानेपानीलगायत विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरिने उल्लेख गरिएको छ ।
सामुदायिक विद्यालयहरुमा शिक्षालाई माध्यमिक तहसम्म पूर्ण निशुल्क र सर्वसुलभ बनाउने, गरिब विपन्न वर्गमा परेका जनताको लागि निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने, ७० वर्षभन्दा माथिका नागरिक, असक्त, अपांगहरुको लागि घर दैलो स्वास्थ्य सेवा प्रदान गर्ने, कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणका लागि कृषक तथा उद्यमीहरुको क्षमता अभिवृद्धि गरिने, हरेक वाटो कालोपत्रे र हरेक घरमा पानी विजुली पुर्याइने ,दिँदा खाने, हुँदा खाने र हुने खाने वर्ग बीचको असन्तुलनलाई व्यवस्थित रूपमा हुने खाने वर्गमा पुर्याइने, कोखदेखि शोकसम्मका कार्यक्रमहरू निर्माण गरी सोहीअनुसार लागू गरिने घोषणापत्रमा उल्लेख छ ।
त्यसैगरी जातजाति, धर्म, लिङ्ग, असक्त, पछाडि पारिएका समुदायलगायत सबैको सेवामा समान पहुँचको व्यवस्था गरिने, दिगो जीविकोपार्जन, जलवायु परिवर्तन, स्वास्थ्य, शिक्षा, दैवी प्रकोप, पूर्वाधार विकास, नदी÷खोला कटान, बाढी नियन्त्रण, आर्थिक उन्नति, सुरक्षित गैंडाकोट, विभेदबाट मुक्ति, सबै प्रकारका हिंसाहरूको न्यूनीकरण, सुशासन, प्रविधियुक्त गैंडाकोट, कृषि र पशुजन्य उत्पादनमा वृद्धिका लागि केन्द्रीत भई क्रियाकलापहरू सञ्चालन गरिने उल्लेख गरिएको छ ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार मदनभक्त अधिकारीले जनताबाट सुझाव संकलन गरेर नै घोषणापत्र तयार पारेको बताउँदै त्यसै अनुरुप आफुहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकामा विभिन्न समस्याहरु विद्यमान रहेको र त्यसलाई चिरेर समृद्ध नगर बनाउने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार शान्ति कोइराला, महासमिती सदस्य ओमप्रसाद सापकोटा, निवर्तमान उपप्रमुख विष्णु कुमारी कंडेल लगायतले नगरको समग्र विकासका लागि काग्रेसको नेतृत्व आवश्यकता भएको बताउनुभएको थियो ।
तपाइँको प्रतिक्रिया