एमाले वडा नं ८ को घोषणापत्र : प्रत्येक परिवारलाई इन्डक्शन चुल्हो निशुल्क, सुत्केरीलाई भत्ता

गैंडाकोट, १८ वैशाख ।
नेकपा एमाले वडा नं ८ ले आशन्न स्थानिय तह निर्वाचनका लागि संकल्पपत्र सार्वजनिक गरेको छ । एमाले वडा कमिटीले आइतबार पाँच वर्षे नीति तथा कार्यक्रम सहितको संकल्पपत्र सार्वजनिक गर्दै वडामा पार्टीले चुनाव जिते सुत्केरी महिलालाई एक वर्षसम्म मासिक रु ५०० का दरले सुत्केरी पोषण भत्ता दिईने घोषणा गरेको हो ।
वडाका प्रत्येक परिवारलाई १ थान इन्डक्शन चुल्हो निशुल्क दिइने, १० हजार सम्मको खाने पानी निशुल्क उपलब्ध गराइने र प्रत्येक टोल विकाश संस्थाहरुलाई भवन निर्माणीर्थ सहयोग गर्ने, वडामा सीपमुलक तालिमको व्यक्स्था मिलाईने, दलित, विपन्न र सिमान्तकृत परिवारका विद्यार्थीहरुलाई निशुल्क कोचिङ क्लास संचालन गरिने, सामुदायिक पुस्तकालय स्थापना गरिने र विद्यार्थी एवं आमा समुहहरुलाई आयुर्वेद शिक्षा संचालन गरिने लगायतका कार्यक्रमहरुलाई घोषणापत्रमा प्राथमिकता दिइएको छ ।
वडालाई भ्रष्टाचार मुक्त पार्ने, जनताको सेवक बन्ने, पारदर्शी भएर काम गर्ने र वडावासीहरुका निम्ति उत्तरदायी जनप्रतिनिधि बन्ने, वडामा योगा सेन्टर खोल्ने, मृगौला रोगीलाई अस्पताल जान आउन मासिक रु १५०० दरले खर्च उपलब्ध गराउने र वडामा डिजिटल साक्षरता अभियान संचालन गर्ने जस्ता कार्यक्रमहरु घोषणापत्रमा समावेश गरिएका छन् ।
वडा नं ८ का इन्चार्ज एवं जिल्ला सदस्य गोपाल पसाद्र गौतमले घोषणा पत्रमा जे जति प्रतिबद्धता छ, उम्मेदवारहरुले विजय भएपछि त्यसलाईः लागु गर्नुपर्ने बताउनुभयो । उहाँले सबै कार्यकर्ताहरु जनतालाई भेटन अनुशासित भएर उनिहरुको घरघरमा जान आग्रह गर्नुभयो ।
वडाका पार्टी कमिटी अध्यक्ष श्रीहरी चालिसे, वडा नं ८ का अध्यक्ष डिलाराम रिजाल, अध्यक्ष पदका उम्मेदवार नरबहादुर थापा (नरेश), चुनाव परिचालन समितिकी संयोजक हरिमाया अधिकारी लगायतल वडाको समग्र विकासको लागि नेकपा एमालेको नेतृत्व आवश्यकता भएको बताउनुभएको थियो । कार्यक्रमको संचालन पार्टीका सह सचिव शिव पौडेलले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया