खैरहनीमा एमाले आक्रामक, गठबन्धनको चुनावी प्रचार तिव्र

खैरहनी, २४ बैशाख ।
स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा दलहरुलाई आ–आफ्नो चुनावी प्रचार तथा घरदैलो कार्यक्रम गर्न भ्याईनभ्याई छ । घरदैलोको समय १० दिनको मात्र भएकाले उम्मेदवारहरु प्रत्येक घर–घरमा पुग्ने अवस्था छैन । खैरहनीमा रहेका १३ वटा वडाकै घरमा पुग्न उनीहरुलाई मुस्किल छ । उनीहरुले सम्भव भएसम्म घर–घरमा पुगेर भोट मागेका छन्, त कतिपय ठाउँमा कोण सभा मार्फत आफ्ना योजना सुनाउँदै जनतालाई मत दिन आह्वान गरिरहेका छन् ।सत्ता गठवन्धनको चुनौती रहेपनि खैरहनीमा नेकपा एमालेका उम्मेदवारहरु आक्रमक रुपमा घरदैलोसंगै कोण सभामा व्यस्त छन् । नगर प्रमुख पदका उम्मेदवार लालमणि चौधरी, उपप्रमुख पदका उम्मेदवार कविता उप्रेती वडा–वडामा पुगेर मत मागिरहेका छन् । उनीहरुले नगरको ८ वटा वडामा घरदैलो गरिसकेका छन् । अब वडा नम्वर ८, १०, ११, १२ र १३ वाँकी छ । एमालेले अघिल्लो निर्वाचनको विरासत जोगाउँदै केही वडा थप गर्ने रणनीति बनाएको छ ।
खैरहनीको वडा नम्वर ४ र ५ लाई कांग्रेसको गढको रुपमा लिने गरिएता पनि एमालेको घरदैलो कार्यक्रममा स्थानीयको उत्साजनक उपस्थिती र मायाले उत्साहित भएको एमालेबाट खैरहनीमा नगर प्रमुख पदका उम्मेदवार तथा पूर्व नगर प्रमुख लालमणि चौधरीले बताए । पहिलो कार्यकालमा पनि नगरको क्षमताले भ्याएसम्मको काम गरेको स्मरण गर्दै पूर्व नगर प्रमुख चौधरीले निर्वाचित भएमा लोककल्याणकारी कामलाई प्राथमिकता दिने बताए ।यता सत्ता गठवन्धनमा रहेका दलहरु पनि चुनावी प्रचार प्रसार र घरदैलोलाई तीव्र पारेका छन् । खैरहनीको गठवन्धनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छन् । नेकपा समाजवादीको भागमा प्रमुख, उपप्रमुख नपरेकाले समाजवादी अहिले चुपचाप छ । खैरहनीमा गठवन्धनबाट नेपाली कांग्रेसको भागमा नगर प्रमुख केन्द्रको भागमा उपप्रमुख परेको छ । कांग्रेसका शशिकुमार खनियाँ र केन्द्रकी लक्ष्मी ढकाल चुनावी मैदानमा छन् ।
उनीहरुले पनि आगामी योजना सुनाउँदै नगरवासीसंग मत मागिरहेका छन् । यस्तै राप्रपाले पनि आफ्नो घरदैलो कार्यक्रमलाई तीव्र पारेको छ । राप्रपाबाट नगर प्रमुख पदका उम्मेदवार सागर पाण्डे नगरको १३ वटै वडामा पुगेर मत मागिरहेका छन् ।
तपाइँको प्रतिक्रिया