मतदाता शिक्षामा जोड दिऔं : एमाले गैँडाकोट

गैँडाकोट, २३ वैशाख । नेकपा एमाले गैँडाकोटले मतदाता शिक्षामा जोड दिन नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । शुक्रबार नेकपा एमाले गैँडाकोट नगर कमिटीले एक कार्यक्रमको आयोजना गरि जनताले दिएको मत बदर नहोस् भन्ने उद्देश्यले जनतालाई मतदाता शिक्षा प्रदान गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य रविन्द्र अधिकारीले निर्वाचनको अवधीमा विभिन्न अफवाह फैलने हुँदा सजक रहन विभिन्न पदका उम्मेदवारहरुलाई आग्रह गर्नुभयो । गैँडाकोटमा वडाले सञ्चालन गरेको नमुना मतदान कार्यक्रममा आधा मत बदर भएको उल्लेख गर्दै उहाँले मतदाता समक्ष मत माग्न मात्र होइन की मतदान गर्ने तरिका समेत सिकाउन आग्रह गर्नुभएको हो । जनताको साना साना समस्या समेत बुझने र खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत आवश्यकतालाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले गैँडाकोट नगर कमिटी अध्यक्ष षडानन्द लामिछानेले अबको मुख्य प्राथमिकता मतदाता शिक्षामा दिनुपर्ने बताउनुभयो । अध्यक्ष लामिछानेले गैँडाकोटमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबाट नै चुनावी अभियान अगाडी बढेको भन्दै अब गैँडाकोटलाई समृद्ध बनाउने जिम्मा पनि दुवै पार्टीको रहेको उल्लेख गर्नुभयो ।
गैँडाकोट नगरपालिकामा मेयर पदका प्रत्यासी छत्रराज पौडेलले आफु विजयी भएपछि आफूहरुले जारी गरेको प्रतिवद्धतापत्र अनुसार काम गर्ने बताउनुभयो । जनताले आफूहरुले गरेको कामको आधारमा मुल्यांकन गर्ने बताउँदै आफ्नो जीत सुनिश्चीत रहेको समेत बताउनुभयो ।
नगरपालिकामा उपमेयर पदका प्रत्यासी तुलाराम पौडेलले एमाले र राप्रपाको तालमेललाई फुटाउन विभिन्न प्रपञ्च रचिएको बताउँदै त्यसलाई वास्ता नगरी अगाडी बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
सो अवसरमा नेकपा एमाले केन्द्रीय सदस्य कृष्ण पौडेल, केन्द्रीय सल्लाहकार सदस्य दिपक अधिकारी, गण्डकी प्रदेश सदस्य गोपेन्द्र केशरी न्यौपाने, राप्रपा केन्द्रीय महिला संघकी वरिष्ठ उपाध्यक्ष सिता बसेल लगायतको उपस्थिती रहेको थियो ।
नेकपा एमाले गैँडाकोट नगर कमिटी अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव जगन्नाथ पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया