चितवनमा बुस्टर खोप मात्रा लगाउने क्रम जारी

चितवन, ४ माघ । चितवनमा बुस्टर खोप मात्रा लगाउने क्रम जारी रहेको छ । कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुरा भएकालाई चितवनमा २ गतेबाट बुस्टर खोप मात्रा दिन थालिएको हो । यहाँ बुस्टर डोज लगाउनेको संख्या १३ हजार रहेकाले पालो मिलाएर लगाउने तयारी गरिएको स्वास्थ्य कार्यलय चितवनले जनाएको छ ।
मंगलबार सञ्चारकर्मीसंग कुरा गर्दै स्वास्थ्य कार्यलय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले बुस्टर डोज लगाउने व्यक्तीको संख्या बढेको बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारले खोप कार्डलाई अनिवार्य बनाएपछि खोप लगाउनेको संख्या पनि बढ्न गएको हो ।
विगतमा मानिसहरुलाई खोपको फाइदाबारे बुझाउन नै कठिन भएकोमा अहिले फोन गरेर नै चासोका साथ खोप लगाउन आउनेको संख्या बढेको अधिकृत ढकालको भनाई छ । बुस्टर डोज लगाउने १३ हजार जना रहेकोमा सोमबारसम्म २ हजार जनाले लगाइसकेको उहाँले बताउनुभयो ।
चितवनमा अग्रपंतीमा खटिएर काम गर्ने प्रहरी, कारागारका कर्मचारी, स्वास्थ्यकर्मी, एम्वुलेन्स तथा शव वाहन चालक, सरसफाइकर्मी,स्वास्थ्य स्वयंसेवीका, जनप्रतिनिधी, सरकारी निजामती कर्मचारी, पत्रकार, बैंकिङ कर्मचारी लगायतलाई बुस्टर डोज लगाउन सुरु गरिएको हो ।
त्यसैगरी ६० वर्षमाथिका जेष्ठ नागरिकलाई माघको १४ गतेबाट बुस्टर डोज खोप दिइनेछ ।
तपाइँको प्रतिक्रिया