सत्ता गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डको साथ

धनगढी, २६ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका बागी उम्मेदवारका लागि मत मागेका छन् ।
सोमबार बिहान कैलारी कैलारी गाउँपालिकामा माओवादी केन्द्रले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनकै बागी उम्मेदवारलाई मत मागेका हुन् ।
‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवा
(चौधरी) लगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउनुस् भन्न चाहन्छु’, उनले भने, ‘उहाँहरूको टीमले विगतमा पनि राम्रो काम गरेको थियो, आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गर्दछु ।’
कैलालीमा गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार कैलारी गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । माओवादीले अध्यक्षमा अघिल्लो निर्वाचनमा पनि विजयी भएका लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले भगवती चौधरीलाई साझा उम्मेदवारका रुपमा अघि सारेको छ ।
तर उपाध्यक्षमा माओवादी केन्द्रकी लक्ष्मी चौधरीले बागी उम्मेदवारी दिएकी छन् । उनी गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् ।
तपाइँको प्रतिक्रिया